✍ द्रोण अधिकारी
चारकोशे झाडीको एउटा सानो अवशेषका रूपमा रहेको जलथल वन नेपालको सुदुर पूर्वको एक मात्र जैविक विविधता बोकेको प्राकृतिक सम्पदा हो ।

पूर्वी दक्षिणी झापाको भद्रपुर, कचनकवल, हल्दिवारी तथा बाह्रदशी गाउँपालिकाको सिमानासित गासिएको यस वनभित्र पाइने जैविकताको संरक्षणका लागि स्थानीय सरकार मुख्य जिम्मेवार हुनु पर्ने हो । नेपालमा रहेको वन क्षेत्र मध्ये विरलै मानिएको जैविक विविधताको वृहद स्वरूप भएको एक मात्र वन क्षेत्र भित्र जलथल वन पर्दछ । एशिया माहादेशमा रहेका वनहरू मध्येमा अधिक जैविक विविधता संरक्षित भएको मानिएको जलथल जंगल पछिल्ला वर्षहरूमा संकटमा पर्दै गएको छ । यस जंगलको संरक्षणको दायित्व पाएका सरोकारवालाहरू जैविक विविधता अनुकुल संरक्षणका काम गर्न असफल हुँदै गएका छन् । जैविक विविधता दिवसका दिन चिन्ता व्यक्त गर्छन् । मौका मिल्यो भने डलरको खेती पनि गर्छन् तर वर्षभरी अन्य दिन कता हराउँछन् पत्तो हुँदैन । यसैकारण यस वनमा पछिल्ला वर्षहरूमा वनमारा प्रजातिका झार तथा लहराहरूका कारण स्थानीय तथा रैथाने वनस्पती तथा आश्रित जीवको जीवनचर्यामा समेत संकट पैदा हुँदै गइरहेको छ । वनभित्र रहेका पानीका मुहान सुक्दै जाँदा जलचर तथा स्थल प्राणीको आहारा व्यवस्थापनमा पनि संकट पैदा हुँदैछ । यस वनमा रैथाने रूपमा बस्न थालेका हात्ती आहारा र पानीको अभावकै कारण आसपासका गउँ बस्तीमा पसेर अन्न बाली नष्ट गर्ने तथा जनधनको क्षति गर्ने क्रम बढिरहेको छ । मिचाहा प्रजातिका झार तथा लहराका कारण चरिचरण अभावमा परेका हात्ती, मृग,बँदेल, निलगाई लगायत स्थल प्राणी संकटको सामना गरिरहेका छन् ।

कतिपय विश्वमै नपाइने वनस्पति र जीव समेत पाइने जलथल जंगललाई जोगाउनु पर्ने दायित्व भएकाहरू अरूले नै केही गर्लान् कि भनेर आशा राख्दै अनुदान वा आर्थिक सहयोगका लागि चिन्ता देखाएर दायित्वबाट भाग्दै गएको अवस्था छ । यस्तो अवस्थाको अन्त्य नभएसम्म जलथल जंगलसित जोडिएको जैविक विविधता संरक्षित हुने छैन । वर्षमा एकचोटी विज्ञ सहितका सरोकारवालाले जलथल वन अवलोकन तथा अन्तरक्रिया कार्यक्रमका गर्ने गरेका छन् । यस्ता कार्यक्रमले रूख मात्र जोगाउने नभएर वनमा रहेका सम्पूर्ण जैविक विविधता जोगाउन वन समूहहरुको दायित्व बुझाउन सकेको अवस्था पनि छैन । जलथल जंगल वास्तविक सिमसार भएको वन क्षेत्र हो तर, केही वर्षयता त्यस क्षेत्रको पानी अप्रत्यासित रूपमा घट्ने क्रम तीव्र हुँदा सुख्खा क्षेत्र बन्ने जोखिम बढ्दै छ । यस अवस्था निर्माण हुनुको कारण खोज्न विज्ञहरूको सहयोग आवश्यक परेको अवस्था छ । जिम्मेवार हुनु पर्ने स्थानीय, प्रदेश र संघीय सरकारका प्रतिनिधिले पनि आवश्यकता अनुसार जिम्मेवारी प्रस्तुत गर्न सकेका छैनन् ।

स्थानीय सरकार जलथल वनलाई पर्यटकीय क्षेत्र बनाउन सडक विस्तारको तानाबाना बुनेर गिटी बालुवाले घेर्न लागिरहेको अवस्था छ । जंगललाई पर्यटकीयस्थलको रूपमा विकास गर्न आवश्यक भए पनि जैविकतालाई नास गर्ने गरी भौतिक संरचनाको निर्माण आवश्यक नरहेको स्थानीय सरकारलाई बुझाउन जरूरी देखिएको छ । जैविक विविधता जोगाउन कसैलाई पनि जंगलमा प्रवेश गर्न दिनु हुँदैन भन्ने ज्ञान पनि जरूरी छ । यस जंगलको सिमसारको विशेषतालाई उजागर गरी रामसारमा सूचीकृत गर्नसके विश्वमा पर्यापर्यटनका लागि एकीकृत विकास गर्न सकिने छ । त्यसका लागि ठूलो लगानी र प्रयास चाहिने आवश्यकता पनि बुझ्न जरूरी छ । नेपालकै होचो ठाउँमा अवस्थित यस जंगलमा संसारमै नपाइने ६ वटा रुखका प्रजाति र ३ वटा वनस्पति भेटिएको विज्ञहरूको विभिन्न प्रतिवेदन मार्फत ठहर छ । जलथल जंगल जैविक विविधताले नेपालकै धनी भएको प्रमाण पनि यही हो । यस जंगलमा रहेको सिमसारमा पानीको मुहान सुक्दै गएको , वन्यजन्तुहरु नासिदै गएको, चराचुरुङ्गीहरु हराउँदै जानु चिन्ताको विषय हो । मानवको आर्थिक विकास सँगसँगै जैविकताको पहिचान रहेको सिमसारलाई पनि विकसित गर्दै लैजानु पर्छ । तर, वन क्षेत्रको रामसार लोप हुनेगरी कुनै पनि गतिविधि समेटिनु हुँदैन । गिटी बालुवाको भेल बगाउँनु विकास भन्ने बुझेका सरकारी पक्षले जंगलको जैविकता नबुझेकै कारण दिनप्रतिदिन सिमसार सुक्ने र सुख्खाग्रस्त उजाड क्षेत्र बन्ने क्रम बढ्दै गइरहेको छ ।

विज्ञहरूका अनुसार यस वन क्षेत्रमा १७० किसिमका चरा , १५० किसिमका पुतलीहरू रहेका छन् । त्यस्तै कटुस , लटहर, बेत, सतिसाल जस्ता दुर्लभ वनस्पति, बदेल, हरिणजस्ता वन्यजन्तु यस वनको रैथाने प्रजातिमा पर्दछन् । केही वर्षयता सालक, बाँदर जस्ता वन्यजन्तु लोप हुँदै गएका छन् । जलथल जंगललाई हात्ती करिडोरको रूपमा विकास गर्न सकिने संभावना छ । हात्तीका लागि उपयुक्त हावापानी भएको यस वनमा झापामा आइपुग्ने पाहुना हात्ती समेत बास बस्न आउने गरेका छन् । जैविक विविधतामा एशियाकै धनी यस जंगललाई संरक्षण र संवद्र्धन गर्न सवै लाग्ने हो भने जैविकता सुरक्षित हुन्छ । यस जंगलमा माइकेनिया प्रजातिको मिचाहा झारले स्थानीय प्रजातिमाथि नकारात्मक प्रभाव पारिरहेको छ । पूर्वी दक्षिणी झापाको पहिचान रहेको यस जंगलले झापाका करिव १८ हजार हेक्टर वन क्षेत्रमध्ये एक तिहाई भाग ओगटेको छ । जलथल वन भित्र २२ वटा वन समूहहरू रहेका छन् । यी समूहहरूले रूख जोगाएका भए पनि जैविकता बचाउन सकेको अवस्था छैन । पहिलो संरक्षणको हिस्सेदार स्थानीय सरोकारवालाका रूपमा वन समिति हुन भने स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार पनि जैविकता संरक्षणका लागि मुख्य जिम्मेवार हुन् । नीति, विधि र प्रकृयाबाटै जलथल वनसित जोडिएको जैविकता सुरक्षित हुनु पर्छ । वर्षमा एक दिन चिन्ता गरेर यस वनको जैविकता बच्ने छैन । यसैले सवैले सोच्नु पर्दछ कि जलथल वन दक्षिणी झापाको मात्र सम्पत्ति नभएर विश्व सम्पदा भएकाले संरक्षणका लागि हातमा हात दिन आवश्यक छ । कहीँ कतैबाट आर्थिक सहयोग मिल्छ कि भनेर एनजिओ आएनजिओ चलाउनेहरूको प्रवेशले जलथल वनको संरक्षण हुँदैन । यो वन कुनै व्यक्तिको गरिखाने भाँडोभन्दा पनि पर्यावरणको सुरक्षाका लागि संरक्षित हुनु पर्दछ । नीति तथा विधि मार्फत सरकारले श्रोत परिचालन गरेर यस वनको संरक्षणका लागि काम नगरेसम्म जलथल वनको संरक्षण वर्षमा एक दिन जैविक दिवस मनाउने दिन मात्र जंगल घुमेर रमाइलो गर्दै तस्वीर खिच्ने अवसर हुने छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार