हेटौँडा, २६ माघ : मकवानपुरमा एकैदिन चार पालिकाबाट चार जोडीबीच हुन लागेको बालविवाह रोकिएको छ ।

सिबिन बाल हेल्पलाइनका अनुसार कैलाश गाउँपालिका, मनहरि गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा हुन लागेको बालविवाह रोकिएको हो । एकैदिन चार बालविवाह रोकिएको बाल हेल्पलाइनका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

कैलाश–३ का २१ वर्षीय युवक र राक्सिराङ गाउँपालिका–३ की १४ वर्षीया बालिकाबीच हुन लागेको बालविवाह रोकिएको हो । मनहरि–४ की १५ वर्षीया बालिका र हेटौँडा–३ बसामाडीका १८ वर्षीय युवकबीच हुन लागेको बालविवाह पनि रोकिएको छ ।

यस्तै मकवानपुरगढी–२ की १८ वर्षीया र हेटौँडा–१७ का २५ वर्षीय युवकबीच हुन लागेको बालविवाह रोकिएको ज्ञवालीले बताउनुभयो । बालविवाह हुन लागेको सूचना प्राप्त भएपछि अनुगमन गर्दा रोक्न सफल भएको उहाँको भनाइ छ । सबैभन्दा बढी कैलाश र राक्सिराङमा बालविवाह हुने गरेको ज्ञवालीले बताउनुभयो । यातायात र सञ्चार पहुँच नहुँदा बालविवाह ती पालिकामा बढी हुने गरेको उहाँको भनाइ छ ।

चारै १३, १४, १५ र १८ वर्षीया बालबालिकालाई थप परामर्शका लागि सिबिन बाल हेल्पलाइनको संरक्षणमा राखिएको बाल हेल्पलाइन कार्यक्रम अधिकृत सम्झना अधिकारीले जानकारी दिनुभयो । जनप्रतिनिधि, अभिभावक, बालबालिका र बाल हेल्पलाइन मकवानपुर, हिमराइट्स् मकवानपुर तथा प्रहरीको संयुक्त टोलीले बालविवाह रोकेको उहाँले बताउनुभयो ।

कानुनी प्रावधानबमोजिम २० वर्ष पूरा भएपछि मात्र विवाह गर्ने प्रतिबद्वता बालबालिकाले जनाएका छन् । अभिभावकले पनि बालबालिकाको निगरानी गर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार