✍ द्रोण अधिकारी / समय अनुकुल उत्पादन बढाउन नेपालको सम्बृद्धिमा कृषिको व्यवसायिक विकास अनिवार्य आवश्यक छ । कृषिको विकासमा यान्त्रिकरण विना संभव पनि छैन । यसैका लागि राज्यले विशेष क्षेत्र घोषणा गरी विषयगत अवधारणा ल्याएको छ ।
पूर्वी नेपालको धानको भकारीका रूपमा परिचित झापा जिल्लालाई धान सुपरजोनका रूपमा घोषित गरेर सरकारले साविकको बनियानीलाई केन्द्र बनाएर १० वर्षे परियोजना लागु गरेको थियो । परियोजनाले पहिलो दशक पूरा गर्ने समय नजिकिदै गर्दा कृषिमा यान्त्रिकीकरण तथा व्यवसायिक वातावरणका लागि सिञ्चाइमा नयाँ प्रविधि सहित धान खेतीमा जोत्ने, विउ रोप्ने, धान काट्ने यन्त्रले प्रवेश पायो । नयाँ प्रविधि भित्र्याइएपछि उत्पादनमा केही सुधार पनि आयो । व्यवसायिक कृषि कार्यमा सकृय कृषकलाई अनुदानमा विशेषज्ञ सेवा, उन्नत विउविजनदेखि नयाँ प्रविधि र उपकरण दिने सरकारी नीति कार्यान्वयन गर्ने तल्लो निकायका रूपमा सुपर जोनले स्थान लिएको थियो । यस निकायले वास्तविक कृषक र कृषि कर्मका सेवक चिनेर सहयोग गर्न भने सकेन । नेपाली कृषि उत्पादनको सम्बृद्धिमा सुपर जोनले केही आशाका किरण भने छोडेको छ । कृषि पनि सम्मानित पेशा बन्न सक्छ भन्ने पहिलो आधार बन्दै गएको वातावरणका लागि धान सुपर जोनको देन उल्लेखनीय छ ।
धान सुपर जोनले भित्र्याएको धान रोप्ने मेशिन, धान काट्ने मेशिनले झापामा धानखेतीमा लागत घटाइ व्यवसायिक प्रतिष्पर्धात्मक कृषिको वातावरणको जग सुरु गरेको थियो भने सिञ्चाइमा लागत कम गराई भूमिगगत पानी तान्न आधुनिक सौर्य उर्जा प्रविधि मार्फत पछिल्लो नयाँ प्रविधिको सुरुवात पनि गरेको थियो । ग्रामीण कृषि क्षेत्रमा विद्युतीकरण विस्तारमा लागत तथा समय बढी लाग्ने देखिएपछि सुपर जोनले स्थीर विद्युतीकरण र दीर्घकालिन लागत घटाउने प्रविधि सौर्य उर्जालाई कृषकका खेतवारीमा ल्याएपछि कृषिमा व्यवसायिक उत्पादनमा युवा पुस्ताको आकर्षण बढेको देखिन्छ । सुपर जोनले कम्तीमा २ बाली व्यवसायिक खेती गर्ने कृषक समूह वा कृषि सहकारीलाई छनौट गरी लागतको ८५ प्रतिशतसम्म अनुदान दिने गरी यस प्रविधिलाई कृषक समक्ष ल्याइएको थियो । तर कृषक छनौटमा निष्पक्ष हुन नसकेको जन गुनासो पनि केही हदसम्म छ । अनुदान पाउनेले निष्पक्ष र नपाउनेले पक्षपातको आरोप लगाउने बानी नेपाली प्रवृत्ति हो भन्ने प्रचलन पनि छ तर काम गर्दा सानातिना गल्ति भए सच्याउन आलोचनाले खवदारी गरिरहेको हुन्छ भन्ने कुरा बुझेर अगाडि बढ्न जरूरी छ । धान सुपर जोनको सेवा विस्तार भएसंगै बनियानीबाट कार्यालय सदरमुकाम चन्द्रगढी सरेको थियो । गाउँ छोडेर सहरमा कार्यालय सरेपछि यस कार्यालयको सेवा संकुचन भएको झापाली कृषकको गुनासो छ । औजार, उपकरणदेखि बिऊ बिजन छनौटमा विशेषज्ञ सेवा पाइने आशामा रहेका कृषका आकाँक्षा सम्बोधन गर्न सुपर जोनका प्राविधिक तथा नेतृत्व कर्ताले सकिरहेका छैनन् । त्यस्तै उत्पादित धानको बजारीकरणमा सहयोग पुग्न सकिरहेको छैन ।
कृषिलाई प्रतिष्पर्धी व्यवसायका रूपमा विस्तार गर्न यान्त्रिकीकरणमा कृषकको पहुँच कार्यक्रमका रूपमा सौर्य बोरिङ ल्याइएको थियो । व्यवसायिक कृषि कार्यमा सहभागी रहेका कृषकहरुका समूह मार्फत सुपर जोनले ८५ प्रतिशत लागत रकम व्यहोर्ने तथा १५ प्रतिशत सम्बन्धितले तिर्ने गरी छनौट प्रकृया मार्फत सौर्य पम्प वितरण गरेको थियो । अनुदान लिनेले सदुपयो गरिरहेको छ कि अनुदानलाई दुरूपयोग गरेर प्रविधिमाथि नै प्रश्न चिन्ह खडा भएको छ भन्ने कुरा सुपर जोनका नेतृत्वकर्ताले अनुगमन गर्नु पर्ने जरूरी छ । हाम्रालाई होइन राम्रालाई अनुदानको आवश्यकता छ भन्ने वातावरण बनाएर धान सुपर जोन परियोजनले झापामा व्यवसायिक कृषिको उत्थानका कामहरू गर्न सक्नु पर्छ । यसले मात्र नेपालीको अन्न निर्भरताको सपना पूरा गर्न सक्छ । पछिल्लो समय धान सुपरजोन कृषि क्षेत्र बनियानी छोडेर सदरमुकाम चन्द्रगढी बसाइ सरेपछि यसका काम झापा जिल्लाभरी सुस्त हुँदै गएको कृषकको गुनासो छ । सहरमा बसेर कागजमा उपलब्धी देखाइने प्रवृत्तिले कृषिको उन्नति हुँदैन । धान सुपर जोनले धान उत्पादन बृद्धि गर्नका लागि स्थापना कालमा जसरी तीव्र गतिमा काम गरेको थियो पछिल्ला वर्ष सुस्ताएको सत्य सुपरजोनका धान किशानले अनुभव गरिरहेका छन् । क्षेत्र विस्तार भएसंगै प्राविधिक सहयोगमा समस्या भएको हो कि नेतृत्वकर्ता कमजोर बनेको हो भन्ने छुट्याउन सकिएको छैन तर पनि कृषिको विकासका लागि गठित सुपर जोन विषयगत दक्षता भएका प्राविधिक विज्ञको नेतृत्वको निकाय बन्न जरूरी छ ।