द्रोण अधिकारी / भद्रपुर । भद्रपुर नगरपालिकाको आयोजनामा वन्यजन्तुका कारण उत्पन्न समस्या तथा निराकरणका लागि अपनाउन सकिने सजगताका विषयमा सरोकारवालासित अन्र्तरक्रिया सम्पन्न गरिएको छ ।

दक्षिणी झापामा हात्तीका कारण उत्पन्न समस्या र समाधानका लागि यस क्षेत्रका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि सामुदायिक वन, डिभिजन वन कार्यालय, उद्योग वाणिज्य संघ लगायतका सरोकारवाला निकायका प्रतिनिधिसित छलफल गरिएको हो ।

नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रदेश सभा सदस्य छविलाल चुडाल, कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी, हल्दिवारी गउँपालिकाका प्रमुख रविन्द्रप्रसाद लिङ्देन, भद्रपुर नगरउप–प्रमुख राधा कार्की, भद्रपुर नगरपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू लगायत डिभिजन वन कार्यालय, सामुदायिक वन, फरेष्ट एक्सन नेपाल, भद्रपुर वन महासंघ, झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघका प्रतिनिधिहरूले जंगली हात्ती तथा मानव द्वन्द निवारणका लागि ४ बुँदे घोषणा समेत पारित गरेको छ । पारित भएको धारण पत्र निम्नानुसार रहेको छ ।

१. डिभिजन वन कार्यालय, स्थानीय तह मिलेर फेन्सिङ्ग तार मर्मत समितिको सहकार्यमा फेन्सिङ्ग तार मर्मत सम्भारको व्यवस्था मिलाउने साथै फेन्सिङ्ग तार स्थानीय तहलाई हस्तान्तरण गर्ने कार्य डिभिजन वन कार्यालय मार्फत गर्ने र विस्तार कार्यका लागि पहल गर्ने ।
२. सामुदायिक वन समितिको समन्वयमा स्थानीय तहको सहभागितामा सामुदायिक स्तरमा रेपिड रेस्पोन्स टिम तयार गर्ने ।
३. हात्ती मैत्री वातावरण निर्माण गर्न वन क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्न स्थानीय तहको समन्वयमा प्रदेश सरकार र संघीय सरकार समेतलाई ध्यानार्षण गराउन आवश्यक पहल गर्ने ।
४. अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने, क्षतिपूर्ति प्रदान गर्ने कार्यलाई छिटो–छरितो गराउन सम्बन्धित निकायलाई आवश्यक पहल गर्ने र एकद्वार प्रणालीको व्यवस्था मिलाउने रहेको छ ।

पछिल्लो समय झापामा घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट ज्यान गुमाउने क्रम पनि बढिरहेकोे छ । जिल्लामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ । चार दशकदेखि गुज्रिरहेको जङ्गली हात्ती र मानवबीच द्वन्द्वको कहिल्यै नसिद्धिने यो सिलसिलाबाट अहिले पनि झापा आक्रान्त छ । यो अवधिमा कति मानिसको ज्यान गयो भन्ने पूर्ण तथ्याङ्क सरकारी निकायले उपलब्ध गराउन सक्ने अवस्था छैन ।

मेचीपारि भारतमा महानन्द वन्यजन्तु निकुञ्ज छ । पश्चिम बङ्गालको वन्यजन्तु संरक्षण गरिने उक्त जङ्गलमा आसामदेखि आउने हात्तीले बासस्थान बनाउने गरेका छन् । त्यहाँ दिनभर आराम गर्ने हात्तीको बथान साँझ परेपछि आहारको खोजीमा सीमा तरेर बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् । खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनाश गर्ने हात्तीले मानिसलाई पछिल्लो समयमा अधिक आक्रमणको निशाना बनाउँदा अकालमा धेरैले ज्यान गुमाउनुपरेको अवस्था छ । सीमामै हात्ती छेक्न गरिएको अन्तिम उपाय विद्युतीय तारबारले काम गर्न छाडेपछि पछिल्लो समय हुल बाँधेर हात्ती नेपाल प्रवेश गरिरहेका छन् । दक्षिणी झापामा पनि हात्ती रोक्न तारवारको काम भए पनि प्रभाव कम हुँदै जाँदा दिनप्रतिदिन समस्या झेल्न बाध्य स्थानीय बासिन्दा बचाउन रोकथामको प्रभावकारिताका लागि छलफल थालिएको भद्रपुर नगर प्रमुख गणेश पोखरेलको भनाइ छ ।

यस अगाडि हात्ती समस्या समाधान गर्ने बारेमा स्थानीय जनप्रतिनिधिले चासो नराखेको आरोप लाग्ने गरेको थियो । यस आरोपलाई चिर्न दक्षिणी झापाका जनप्रतिनिधिले प्रयास थालेको रूपमा अन्र्तक्रियालाई स्थानीयले बुझ्ने छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार