हल्दिवारी । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका गणपति तथा एसपी देवराज अर्यालको १३ महिने कार्यकाल सफलतापूर्वक पूरा भएको पत्रकार भेटघाट कार्यक्रममा बताइएको छ ।

नयाँ गणपति तथा एसपी कवीन्द्र राईले झापाको जिम्मेवारी सम्हाल्नु भएको छ भने एसपी अर्यालको केन्द्रीय हेडक्वार्टर सचिवालय सरुवा भएको छ ।

झापाली नागरिक समाज, राजनीति दलका नेता र सङ्घसंस्थाका नेतृत्वदायी भूमिकामा रहनेहरू अत्यन्तै सहयोगी, रचनात्मक कार्यशैली गुण भएका कारण आफूलाई काम गर्न सहज भएकोले आफ्नो कार्यकाल सफल बन्न सकेको भन्दै एसपी अर्यालले झापावासीलाई धन्यवाद समेत दिनु भएको छ ।

पत्रकारहरु सग कुरा गर्दै एसपी अर्यालले आफ्नो कार्यकाल समय अवधिमा भएका कार्यसम्पादन र प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।

२०७९ माघ १५ गते देखि २०८० माघ मसान्त सम्म १३ करोड ८२ लाख ३३ हजार ५१९ रुपैयाँ बराबरको भन्सार छलीका अवैध सामान भन्सार बुझाएको उनले वार्षिक विवरण प्रस्तुत गरेका थिए । सोही अवधिको अघिल्लो वर्ष ४ करोड ६३ लाख १६ हजार ६सय रहेको अवैध सामान बरामद गरिएको बताइएको छ ।

चालु आर्थिक वर्षमा १ करोड १६ लाख ८४ हजार ८५० रुपैयाँ मूल्य बराबरको ९ वटा सवारी साधन सहित ११३८.८३ क्युफिट र ३ वटा गोलिया काठ बरामद गरेको एसपी अर्यालले जानकारी दिनुभयो ।

सशस्त्रले दशगजा सरसफाइ, १४४.०२ किलो मिटर अन्तर्राष्ट्रिय सीमा इलाका रहेकोमा ३७ स्थानमा दशगजा इलाकामा गरिएको खेतीपाती हटाइएको, दशगजा क्षेत्रमा रहेका १७ वटा घर टहरा मध्ये १२ वटा घर टहरा हटाइएको, भारतीय सुरक्षा एसएसवी र नेपालको एपिएफ बिचको समन्वय, सहकार्यमा ७ हजार ६ सय ६३ पटक संयुक्त गस्ती गरिएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

सशस्त्रले प्रस्तावित बिओपी चमरभिट्टाको नाममा निःशुल्क जग्गा प्राप्त, प्रस्तावित गुल्म काँकडभिट्टाको लागि ९ कट्ठा २ धुर जग्गा र भद्रपुरको लागि १० कट्ठा जग्गा खरिद गरी भवन निर्माण प्रक्रियामा रहेको, बिओपी महेशपुरको लागि थप भवन निर्माण कार्यको सुरुवात, विओपी ज्यामिरगढीको लागी एक बिघा जग्गा भोगाधिकार प्राप्त भई भवन निर्माण कार्यको सुरुवात, सुरक्षा वेश शनिश्चरेको लागि भवन निर्माण, बिओपी आल्ताबारी, बिओपी डाँगावारि र बिओपी लालमाटीको उद्घाटन गर्न सफल भएको अर्यालले बताउनुभयो ।

त्यस्तै सीमा मर्मत सम्भार तथा रङ्ग रोगन कार्य अन्तरगत नेपालतर्फबाट ३१७ वटा बिजोर नम्बरका सीमा स्तम्भहरूको मर्मत सम्भार तथा रङ्ग रोगन, एसएसवीको तर्फबाट १४८ वटा जोड नम्बरका सीमा स्तम्भहरू मर्मत सम्भार रङ्ग रोगन गर्ने काम भएको छ । सो क्रममा ७ वटा सीमा स्तम्भहरू फेला परेको बताइएको छ । झापा जिल्लामा डग स्क्वार्ड स्थापना, मुख्य तथा सहायक सीमा नाकाबाट आवतजावत गर्ने मानिसहरूको आवत जावत सङ्ख्या दर्ता व्यवस्था, कोशी प्रदेश नामकरणको विषयलाई लिएर सुरु भएको पहिचानको आन्दोलन तथा अन्य विविध जातीय आन्दोलनमा जिल्लाका सम्पूर्ण सुरक्षा निकायसँग समन्वय गरी शान्ति सुरक्षा सुव्यवस्था कायम गर्न व्यावसायिक भूमिका निर्वाह गर्न सफल भएको, सीमा सँग जोडिएको अप्रेसन गणहरू मध्येबाट सर्वोत्कृष्ट गण बन्न सफल लगायत प्रगति विवरणहरू एसपी अर्यालले प्रस्तुत गर्नु भएको थियोे ।

बिदाइ तथा स्वागत कार्यक्रममा उपस्थित नेपाल राष्ट्रिय अनुसन्धान झापा प्रमुख कुलचन्द्र नेपाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र नयाँ गणपति एसपी कविन्द्र राईले समेत मन्तव्य राख्नु भएको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार