पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–१ र ३ को सिमानामा शुक्रबार बिहान ठूलो दुर्घटना भएको छ। प्रहरीका अनुसार टिपर, बस र बोलेरो जीप ठोक्किएर बिहान ६:३० बजेतिर भयानक दुर्घटना भएको हो। दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्। प्रहरीका अनुसार मृतक र घाइते बोलेरो जीपमा सवार थिए। बोलेरोमा ५ जना सवार थिए।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई सुरुमा ठक्कर दिएको प्रहरीले जनाएको छ। बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दियो।

बोलेरो बसको पछिपछि आउँदै थियो। प्रहरीका अनुसार दुर्घटनामा परेर बोलेरोमा सवार झापाको कमल गाउँपालिका–२ का ५१ वर्षीय यदुकान्त भट्टराई र पहिचान नखुलेकी महिलाको मृत्यु भएको छ। दुवै जनालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्।

मृतकमध्ये अन्दाजी ५० वर्षीया महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। साथमा बोकेको मतदाता परिचयपत्रका आधारमा मृतकमध्ये भट्टराईको पहिचान खुलेको प्रहरीको भनाइ छ। मृतक महिलाको साथमा गायत्री भट्टराई नाम लेखेको मतदाता परिचयपत्र फेला परेको छ। तर, उक्त परिचयपत्र मृतकको नभएको प्रहरीको भनाइ छ।

कमल गाउँपालिका–२ की ५० वर्षीया गायत्री भट्टराईको घाइते अवस्थामा विराटनगरकै न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर गायत्रीसहित ३ जना घाइते भएका छन्। दुर्घटनाका घाइते गायत्रीसहित कमल गाउँपालिका–२ का ५५ वर्षीय हरि खनाल र पहिचान नखुलेका अन्दाजी ४० वर्षीया पुरुषको न्युरोमै उपचार भइरहेको छ।

पहिचान नखुलेका पुरुष बोलेरो चालक हुनसक्ने प्रहरीको अनुमान छ। घाइतेमध्ये ती पुरुष र हरि खनालको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार गायत्रीको अवस्था सामान्य छ। घटनास्थलबाट ५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि पठाएको थियो। घाइतेमध्ये २ जनाको मृत्यु भइसकेको हो। २ जना सिकिस्त छन्। अन्नपूर्ण पोष्टबाट साभार

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार