बिर्तामोड, फागुन २५ । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।

चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो । जितसँगै एपिएफले कम्तिमा ७ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । एपिएफले आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा गरेको हो । एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा आत्मघाती भएको थियो । फोफोनाको प्रहार आर्मीका रक्षक कमल थापालाई लाग्दै गोल भएको थियो ।

पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल खेलका थिए । खेलको ४२औंँ मिनेटमा फोफोनाले दिएको क्रस पासमा एपिएफका अनिश महर्जनले गोल गर्न सकेनन् । ४७औँ मिनेटमा सर्ज सोङले पेनाल्टी एरियाबाट गरेको प्रहार बारको नजिकबाट बाहिरियो । ६९औँ मिनेटमा बुद्धिमान राईले पेनाल्टी एरियाबाट गरेको प्रहार फितलो भयो । चारपटकको विजेता आर्मीले भने सशस्त्र प्रहरीसँग रक्षात्मक खेल खेलेको थियो । आर्मीले सशस्त्रविरुद्ध खासै मुभ सिर्जना गर्न सकेन । खेलको ४३औँ मिनेटमा कप्तान भरत खवासले बक्सभित्र पाएको बललाई प्रहार गर्न नसक्दा खेलमा अग्रता लिन आर्मी असफल भएको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टोली सशस्त्र प्रहरीका फोडे फोफोना भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।भोलिको अन्तिम सेमिफाइनल खेल चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसीबीच हुनेछ ।

प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ । प्रतियोगितामा ए डिभिजन क्लबसहित नेपालका १० टिमको सहभागिता रहेको छ । फाइनल खेलको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी र उपविजेताले नगद ७ लाख पाउनेछ ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा विजेता टिम एपिएफका प्रशिक्षक सुमन श्रेष्ठले विदेशी खेलाडीलाई झापाको मौसममा खेल्न सहज भएकाले जित निकाल्न सकेको बताए । उनले खेलाडीबीच तालमेल मिल्दै गएकाले फाइनलमा यो भन्दा सुधारिएको प्रदर्शन गर्ने जनाए ।

आर्मीका प्रशिक्षक मेघराज केसीले मिडफिल्ड चल्न नसक्दा स्कोर ननिस्केको बताए । डिफेन्डर र फरवार्डको प्रदर्शन सन्तोषजनक रहेको उनले बताए । दिनेश हेम्जन र जिलस्पीजंग कार्की घाइते भएकाले उनीहरुको अभाव खड्किएको उनको भनाइ थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार