स-साना छोरा छोरीहरू जब पढ्ने उमेर हुन्छ, त्यसपछि विद्यालय पढाउनका लागि पठाइन्छ, केही जान्नु छ, सिक्नु छ भनेर उत्सुक्ता राखेर अघि बढ्ने विद्यार्थी भाइबहिनी पढाइमा अव्वल बनेर अघि बढ्दै जान्छन, त कोही पढ्न मन नलागेर कक्षा कोठाबाट भागेर बाहिरिने त कोही खेल पट्टि उत्सुक्ता राख्ने गर्छन त कोही सङ्गीत क्षेत्रमा अघि बढ्ने पनि हुन्छन। हामी पनि त्यही प्रकृतिलाई पछ्याउदै याहा सम्म आएका थियौ। तर हामी कुनै विषयमा निपुर्ण हुन सकिएन होला त्यसैले हामी जो कोही जन्मदा नै हाम्रो कर्ममा यी /यी कामहरू तैले गर्नैपर्छ भनि विवरण लिएर आएका थियौं। त्यसैले कोही सानै उमेर देखि अभिभावकत्व निर्वाह गर्नु पर्छ भने कसैले लामो समय सम्म आफूले काम नगरि खेलेर डुलेर नै जीवन व्यतीत गरेका हुन्छन्। त्यसो भएको हुनाले कर्ममा राम्रो पनि र नराम्रो काम पनि लिएर आएका नै हुने रहेछौ। म नराम्रो काम गर्दिन भनिन्छ तर समयले धकेलेर त्यही नराम्रो काममा पुर्याएरै छोड्छ।

विध्यार्थी भाइबहिनी पढ्दै जान्छन्, कोही दश कक्षा पढ्दा पढ्दै मायामा डुब्न थाल्छन, कोही ११/१२ पढ्दै गर्दा जोडी बाँधिने बिचार गरेका हुन्छन त कोही मैले केही गर्नुछ त्यसैले म आफ्नो गोडामा आफै उभिने प्रयत्न गरेर मात्र विवाह गर्नुपर्छ भन्ने सोच लिएर अघि बढ्छन। जसले जे सोचे पनि आफू जन्मदाको कर्म कस्तो छ ? त्यतै तर्फ आफ्नो मन जान थाल्छ। जस्तै वातावरण मिलाए पनि केही लाग्दैन, आफ्नैपन तर्फ लागि हालिन्छ। त्यसैले भनिन्छ सोह्र वर्षमा नआएको बुद्धि साठ्ठी पार हुँदा पनि आउँदैन।

आमा बाबाले छोरा छोरीलाई पढ्न पठाएको हुन्छ तर उनीहरूलाई पढ्नुपर्छ भन्ने भावना कम हुन्छ र कसैले खेलमा त कसैले सङ्गीतमा रूचि राखेका हुन्छन ती मध्येबाट पनि गाउँघर, ओल्लो घर, पल्लो घरका सबैले विवाह गरेको देखेपछि र विवाहमा रमाएको देख्दा उनीहरूलाई पनि लाग्न थाल्छ, विवाह गरे पछि सबै कुराहरू समाधान हुन्छ भन्ने सोच पलाउन थाल्छ। पहिलो समस्या नै विवाह गरेर जोडी बाँधिनु रहेछ भनि त्यही प्रकृति तर्फ लाग्न थालिन्छ। बाबुको होटलमा खाएका छोरा छोरीलाई व्यवहार के हो ? के गर्दा राम्रो र के गर्दा नराम्रो हुन्छ भन्ने कुरा व्यवहारमा संलग्न नभै थाहा हुने विषय पनि होइन। अब मैले विवाह गर्न पाए भने समस्या सकिन्छ र समाधान हुन्छ भन्ने सोच बढ्न थाल्छ। त्यसैले विवाह गर्ने तर्फ लागेको देखिन्छ। जब दुई बीच सम्बन्धमा गाँसिन्छन्। श्रीमान/श्रीमती भएपछि उनीहरूलाई लाग्छ, संसारको कुनै पनि तागतले हाम्रो जोडीलाई केही गर्न सक्दैन, हाम्रो जोडी जन्मौ जन्मान्तर सम्म एक भएर रहन्छौं भन्ने पनि घमण्ड बढ्छ। विवाह भए पछि समस्या सकियो भन्ने सबैले सोचेका हुन्छन्।

बाबु आमाले पनि जोडी बाँधिदिने हो भने, बुहारीले छोरालाई सही ठाउँमा ल्याउन सक्छिन भन्ने लागेर विवाह नै गर्नुपर्छ भन्ने लागेको हुन्छ, छोरी पट्टीको अभिभावकलाई पनि विवाह नगरिदिउञ्जेल समस्या नै सम्झेका हुन्छन तर जब विवाह गरेर जोडी बाँधिन्छन त्यसपछि मात्र समस्या शुरू हुन्छ भन्ने कुनै अभिभावकले सोचेको हुँदैन। छोरा वा छोरी आफ्नो खुट्टामा उभिन नसकेपछि कमाई हुँदैन, बुबाआमाको होटलमा खाना खाएर सार्वजनिक बाटो हिड्ने केटो वा केटीलाई, श्रीमतीले बोटिस, कट्टु, गाजल, टीका, अर्थात श्रृङ्गारका सामान चाहिए पछि श्रीमानलाई मलाई उपरोक्त सामान ल्याई दिनुहोस भनेर प्रस्ताव राखेपछि आफ्नो कमाई छैन, बुबालाई पैसा मागेर किनिदिनु पर्नै दिन आए पछि त्यहीबाट झगडाको शुरूवात हुन थाल्छ। आफ्नो खुट्टामा उभिन थालेको हुँदैन, त्यसपछिका दिनहरूले अलि अलि गरेर बुबा आमा, दाजुभाइ दिदीबहिनीहरू प्रति नराम्रो सोच पलाउन थालि सकेको हुन्छ। समाजका निम्न वर्गिय र मध्यमवर्गीय परिवारको प्रमुख समस्या भनेको नै यही हो साथै केही कमाउन थाल्यो भने पनि उसलाई लाग्छ, बाबुले किनेको भैँसी भन्दा आफूले बाटेको दाम्लोको महत्व बढी भएको महसुस गर्न थाल्छ।

बुबाआमालाई पनि लाग्छ कि छोरा छोरीको विवाह गरिदिए पछि आफ्नो जिम्मेवारी पुराहुन्छ भनेर विवाह गर्ने र गरिदिने तर्खरमा लागिन्छ। विवाह नगरुञ्जेल सम्म एकजनाको मात्र बोझ भएको महसुस हुन्छ भने विवाह गरिदिए पछि दुई को बोझ थपिन्छ, खै हामीले यो कुरा बुझेको ? जब नाता नातिनीको जन्म हुन्छ त्यसपछि बोझ थपिदै जान्छ। आफ्नो पनि उमेर बृद्ध हुदै गए पश्चात कमाई पनि कम हुँदै जान्छ, त्यसपछि हरेक बिरामले चाप्दै जानु, मानिसलाई रिस उठ्ने परिस्थिति निर्माण हुँदै जानु भनेको नै असफल बन्दै गएका कारण आफै निराश हुन्छन।

यो समयमा अभिभावक भए पनि त्यो समयको छोरा/ वा छोरी नै थियौ होला। त्यस समयको परिस्थितिलाई आफूले बुझेपनि यो परिस्थितिमा हामी कसैले बुझ्ने कोशिष गरेनौ। आज समस्या आउदै गर्दापनि हिजोको परिस्थितिलाई सम्झेर सुधार गर्न सकिन्थ्यो तर त्यस तर्फ कुनै पनि अभिभावकको ध्यान गएको देखिदैन। यदि सही अभिभावकत्व प्रदान गरेका थियौ भने यो अवस्था आउने थिएन। खासगरी निम्नमध्यम वर्ग र मध्यम वर्गीय परिवारमा यस किसिमको समस्याले जकेडि रहेको हुन्छ। त्यो समयमा आफू छोरा छोरी हुँदा भएको गल्तीलाई अभिभावक बनेपछि सुधार गर्न सकिन्थ्यो तर आर्थिक स्थिति कमजोर भएकै कारण सही समयमा समस्याको पहिचान गर्न सकिदो रहेनछ। त्यसको परिणाम सबै बाबुआमा असफल बन्दै गएका हुँदारहेछन।

यता छोराबाट श्रीमतीले आफूलाई आवशकीय सामान चाहिएको छ भनि प्रस्ताव राखेपछि किनिदिन सक्दैन। त्यसपछि झगडाको बिउ उम्रिन थाल्छ, त्यही नकारात्मक सोचका कारण बाबुको एक कट्ठा जमिन मात्र किन नहोस, आफू बाहिर गएर कमाएर खान्छु तर बुबाआमालाई दुख दिन्न भन्ने सोच हुनुपर्ने थियो त्यसो नभई भएको एक कट्ठा जमिन मात्र छ, तरपनि आफूले पाउने अंश भाग लिएर छुट्टिन्छु भन्ने अभिमान पलाई सकेको हुन्छ। त्यसको परिणाम बाबु त असफल भयो भयो, न छोरा नै सफल बन्छ, हाम्रो समाजको खास चरित्र नै यही भएको कारण आम अभिभावक र छोराछोरी बीचको द्वन्द्व प्राय यही विषयबाट शुरू भएको पाइन्छ।

बुबाआमाको नाउँमा भएको सम्पत्ति आखिर छोराछोरीले नै खाने नेपालको सम्बिधान र ऐन नियम र कानुनमा स्पष्टसँग लेखिएको छ, तर वर्तमानमा नै सम्पत्ति छोरालाई चाहिए पछि, छोरो छुट्टिएर बस्ने मनस्थिति बनाएर छुट्टिन्छ। त्यसको परिणामले घर तहसनहस हुन जान्छ, समाजमा यही विषयले आफ्नो मान सम्मान घट्न थाल्छ। छोरो जन्मे पछि आफ्नो उत्तरोत्तर प्रगति हुन्छ, मेरो पनि अब छोराले केही गर्छ, दुःखका दिन समाप्त भएर जानेछन भनेर बुनेको सपना सबै तुहिएर जान्छन्। यी सब कुराहरू जन्मदा नै लिएर आएको कर्मको प्रतिफल हो भन्दा अतियुक्त नहोला।

परिवारसँग मिलन नभएपछि श्रीमान श्रीमती छुट्टिएर बाक्लो दाल खान छुट्टिन्छन्। उनीहरू बीचमा पनि कमाई नभए पछि केही गर्ने आँट हुदैन र द्वन्द्व शुरू हुन्छ, यो परिस्थितिले श्रीमती माइत बस्ने प्रकृयामा पुर्याउँछ। त्यसपछि दुई जना बीच बेमेल हुँदै गएपछि, श्रीमानले पनि श्रीमतीलाई ससुराली लिन जाँदैन भने श्रीमती पनि बुढो लिन आएन भने म लुरूक्क परेर निहुरिएर जान्छु ? यही कारणले भोली देखि मलाई हेप्न शुरू हुन्छ भनेर आउँदिन। यिनै कारणले गर्दा श्रीमान/श्रीमती बीच डिभोर्स सम्म पुर्याउन सक्छ। श्रीमतीलाई न समाउने हाँगा नै प्राप्त हुन्छ। न टेक्ने डाली नै भेटाउँछे। हिजो विवाह गरेपछि समस्या समाधान हुन्छ भन्ने केटा केटी र उनीहरूको अभिभावक समेतलाई पुर्पुरोमा हात लगाएर बस्ने दिन बनाउछ। समस्या के हो ? भन्ने पहिचान नगर्दाको परिणाम याहाँसम्म ल्याएर छोडिदिन्छ। पछि फर्केर अघि बढ्न सकिदो रहेनछ, त्यसैलै समस्याको खास जड पत्ता लाएर मात्र जीवनलाई यथार्थ बनाउन सकिन्छ भन्ने कुरामा दुईमत छैन। हामी पृथ्वीमा बसेका छौ, हाम्रो अघिल्लो जन्ममा गरेको कामको आधारमा यो जन्ममा गरिने कामको निर्धारण भएर नै जन्म लिएका हुन्छौ। यो जन्ममा गरिने कामलाई पनि सुधार गर्न सकेनौ भने हाम्रो मानव शरीरले पाएको जन्म व्यर्थ हुन्छ भन्ने हामीहरूले बुझौं।

अन्त्यमा फुटबलको उदाहरण दिन मन लाग्यो, दुई टिम बीच खेल हुन्छ, निश्चित समय र निश्चित परिधि भित्रको खेल मैदानमा एघार/एघार जना खेलाडीले खेल खेल्छन , लाईन्स मेन दुई जना र एक जना रेफ्रि हुन्छ, प्रत्यक्ष खेल हेर्ने दर्शक लाखौं हुन्छन, अप्रत्यक्ष रूपमा टेलिभिजन मार्फत खेल हेर्ने दर्शकको सिमा नै हुँदैन, आ-आफ्नो टिमलाई समर्थन गर्ने दर्शक पनि प्रशस्त हुन्छन, आफ्नो टिमले विजय हासिल गरोस भन्ने सबै दर्शकको चाहाना हुन्छ, खेलाडीले गोल लाउन नसकेको समयमा यसरी हानेको थियो भने अवश्य गोल लाग्थ्यो भनेर भन्ने गर्छौ, कसैले त हेर्दा नै खुट्टा पनि चलाएको देखेका छौ तर खेलाडीले जति सक्दो खेलेको हुन्छ, गोल लाउन नसक्दाको पीडा खेलाडीलाई भन्दा बढी चिन्ता दर्शकलाई हुनेरहेछ ।
यसरी निश्चित समय भित्र, निश्चित खेलाडीले खेल्ने, निश्चित खेल मैदानमा खेलिने फुटबल खेलमा त दर्शकले टीकाटिप्पणी गर्छन भने हामी समाज भित्र बस्ने प्रत्येक व्यक्तिले समाजमा खेल्ने खेल अर्थात काम गर्दा मेरा छिमेकीलाई असर पर्छ मैले यो खेल खेल्नु हुदैन, मेरो खेल मैदान भनेको पृथ्वी हो, फुटबलको जितहार सारा विश्वमा फैलन्छ भनेर जानियो र त्यस किसिमको खेल खेलिएन भने समाजमा घट्ने अपराधिक क्रियाकलापहरू कम गर्न सकिने थियो भन्ने हामीले बुझेर समाजमा बस्ने सबै साथीहरूलाई बुझाउने हो भने घर घरमा घट्ने नराम्रो प्रवृत्तिलाई रोक्न सकिन्थ्यो र समाजलाई सुधार गर्न सकिन्थ्यो भन्ने लागेको छ, समाजका अरूले त खुट्टा मात्र तान्ने गर्छन ता कि यसलाई कसरी लडाउन सकिन्छ। यही हो मौका भनेर मुख मिठ्याएर बसेका हुन्छन, तर छोराछोरीको लागी बाबुआमा मात्र एउटा यस्तो प्यारभरिको शक्ति हो, जहाँ आफ्नो सन्तान कहिले अन्यायमा पनि नपरोस र राम्रो गरि खावोस भन्न सक्ने अभिभावकत्व बुझेको हुन्छ। त्यसै अनुसारको अभिभावकत्व प्रदान गरेको हुन्छ।

यसरी जान्दा जान्दै पनि आफू जन्मदा लिएर आएको कर्मको कारणले आफूले निर्धारण गरि गरिने काममा भन्दा कर्मले यो गर्नुपर्छ भनेर पठाएको विषयलाई नै घुमीफिरी प्राथामिक क्षेत्रमा राखेर त्यही ठाउँमा पुर्याएर छोड्छ। ईश्वर ( प्रभु ) को लीला भनेको नै फरक ढङ्गले गर्ने कर्म लिएर आएपछि अर्को काम तर्फ आफ्नो ध्यान जाँदैन। त्यसैले त समाजमा उच्च निच्च, धनि गरिव, जात जाति, भाषा भाषी र धर्मको पनि घमण्ड गर्ने गरेका छौ। यिनै कारणले मानिसलाई असफल बनाएको थाहा नै हुँदैन। जब हिलो भएको खाडी भित्र पसेर हिलै हिलोमा डुब्दा पनि थाहा हुँदैन। यति भैरहदा पनि आफ्नो गल्तीको महसुस आफैले गर्ने गरेका छैनौ। त्यसैले सही समयमा समस्याको पहिचान गरेर गल्ती सुधार गर्न नसके पछि फुर्सदमा पछुताउन शिवाय केही दखिदैन। धन्यबाद

✍ नारायणबहादुर बस्नेत
मेचिनगर :- ८ झापा ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार