तीर्थ सिग्देल / रातभरी निदाएको कुकुर जुरुक्क उठ्यो । आंग तान्यो, जिउ तंग्र्यायायो, अनि हिँड्ने सुर कस्यो ।

कुकुरले मतिर हेर्दै भन्यो, …दाजु, बिहानै कता ?

मसँग उत्तर थिएन । ऊ रातभर डिउटी गरेर बिहान यसो झकाएको मात्र रहेछ । मेरो गाडीको आवाजले उसको निद्रा खल्बव्याएछ क्यारे । सायद ऊ मसँग भित्रैदेखि मुर्मुरिएको हुनुपर्छ ।

कुकुरको धर्म भुक्नु हो । तर ऊ दिउँसो भुक्दैन । खै किन हो ? म ऊ राति राति मात्र भुकेको सुन्छु । उसले आजसम्म कसैलाई टोकेको देखेको छैन । खै किन हो ? कुकुर भएर पनि ऊ कसैलाई टोक्दैन ।

मैले उत्तर दिएँ, …बिहान यसो चिचुमा नि

सायद उसले कुरा बुझेन । मान्छे हो र, कुरा बुझ्ने । तैपनि उसले कुरा बुझेजस्तै गरेको हाउभाउ गर्यो । पुच्छर हल्लायो, जिउ मर्कायो अनि दुइबटा खुट्टा अगाडि फैलाएर मेरो अगाडि नतमस्तक भयो । यति कुरा त कुकुरले बरु बुझ्यो । मान्छेले त यति कुरा पनि बुझ्दैनन् । अर्थात्, बुझेर पनि बुझ पचाउँछन् । थाहा नपाएजस्तै अभिनय गर्छन् ।

कुकुरहरु पीडामा छन् । पूनर्जन्म सम्बन्धी एउटा धार्मिक मान्यता सुनेको थिएँ, ८४ लाख जुनी मध्ये कुकुरको जुनी अन्तिम हो रे ।

यो कुरामा कति सत्यता छ, थाहा छैन । तर मेरो टोलका कुकुरहरु अब अर्को जुनीमा मान्छे बन्ने तर्खरमा छन् कि जस्तो लाग्छ । मेरै घरमा जन्मिएको त्यो कुकुरका भाइ बहिनीहरु अकालमै मरे । सडक दुर्घटनामा परे । सायद ती कतै मान्छे भएर जन्मिसके कि ?

सडक कुकुरहरुका लागि कालजस्तै हो । धेरै कुकुरहरु सडकका बिचमा मरिरहेको देखिन्छन् । उनीहरुले स्वाभाबिक मृत्यु रोजका हुन् कि मान्छे अधर्मी भएका हुन् ? यो कुरा मैले पत्ता लगाउन सकेको छैन ।

बेलाबेला यस्तो पनि लाग्छ । सायद कुकुरहरुलाई ८४ लाख जुनी पार गर्न कठिन भइरहेको छ । त्यति लामो समय पार गरेर मान्छे बन्न हतारो भएर पो होकी उनीहरु सडकमा लम्पसार बनेर सुतिरहेका । अनि बेलाबेला फेरि यस्तो लाग्छ, म पनि त भर्खरै कुुकुरको जुनी पार गरेर मान्छे बनेको हुँ नि ।

त्यही भएर म मेरा टोलका कुकुरहरु प्रति खासै दुरासय राख्दिन । नभुक्ने कुकुर देख्दा अझ माया लाग्छ, त्यही भएर म कुकुरहरुलाई बिस्कुट खुवाउँछु । चिसो भातमा दुध तताएर खान बोलाउँछु, चोए…चोए ।

मेरै घरमा जन्मिएर सडक दुर्धटनामा नमरी बाँचेको एउटा भाइ कुकुरको अनुहार ठ्याक्कै मेरै हजुरआमाको जस्तो देख्छु । मेरो छेवैमा आएर ऊ लुट्पुटिँदा म मेरी हजुरआमाको छेऊमा पुगेर बसेको सम्झिन्छु । अनि मान्छेहरुका सुरक्षामा रातभर नसुती ड्युटी गर्ने कुकुरहरुको कर्म निस्वार्थ लाग्छ मलाई ।

अलिपर एउटा प्लाइउड फ्याक्ट्री छ । त्यहाँ सुरक्षाका लागि गार्ड राखिएका छन् । ती गार्ड तनखा लिन्छन् तर कुकुरहरुले मान्छेसँग तनखा लिएको मैले आजसम्म देखेको छैन । कतै तलब पाइनँ भनेर हड्ताल गरेको सुनेको छैन । न ड्युटी छाडेर भागेको देखेको छु । बरु अझ इमानदार बनेर आफ्नो कर्तव्यपथमा लागिरहेको देखेको छु ।

त्यही भएर त्यो धार्मिक मान्यतामाथि सत्यता छ कि जस्तो लाग्छ । कुकुरहरु मान्छे बन्ने तर्खरमा छन् । कुकुरहरु मान्छेको सेवामा छन् । मान्छे मस्त निद्रामा रहेको बेला कुकुरहरु जाग्राम बस्छन्, तीनै मान्छेको सुरक्षामा । बिना कुनै लोभ, स्वार्थ र फाइदाका लागि अहोरात्र कुकुरहरु खटिरहेका छन् । उनीहरु अन्तिम जुनी सकुशल पार गरेर मान्छे बन्ने सफल अभ्यास गरिरहेका छन् । अब उनीहरु कतै कसैको कोखमा बस्दा मान्छेको रुपमा हुनेछन् ।

तर मान्छे …? मान्छे फेरि के हुन्छ ? मान्छे फेरि जन्मिदा के भएर जन्मिन्छ ? मान्छे नै भएर जन्मिन्छ कि उसले पहिलो जुनीमा पुग्नुपर्छ, जसलाई फेरि मान्छे भएर जन्मिन हजारौं वर्ष लाग्छ ? म यस्ता बिषयमा जानकार त होइन तर मान्छेले पाएको यो जुनीको सही सदुपयोग नगरेको देख्दा भने मान्छे अब सिँधै कुकुर भएर जन्मिन्छ जस्तो लाग्छ किनभने कुकुरहरु मान्छेभन्दा बढी इमानदार देख्छु म ।

इमान, इज्जत र प्रेस्टिज त बरु तोक्मे बुढाले सिकाउलान् तर मान्छे कुकुरभन्दा बढी बेइमान छ । आफ्नै घर अगाडि दिनरात निःशुल्क ड्युटी गर्ने राते कुकुर मान्छे घरबाट निस्कदा पुच्छर हल्लाएर झुकेर अभिवादन गर्छ तर त्यही मान्छेले कुकुरलाई लात्तले हान्छ । एक मुठी भातको लालसामा कुकुर आफ्नो अन्तिम जुनी काटिरहेको छ, मान्छे बन्ने प्रतीक्षामा ।

अर्को जुनीमा पुरुष मान्छेको बिर्य बनेर उदाउने लालसामा चिसो रात काटिरहको छ । मालिकको प्रताडना खपेर भएपनि ऊ अर्को जुनीमा मान्छे बनेको सपना देखिरहेको छ । कसैको कोखमा भ्रुण बनेर बसेको कल्पना गर्छ, कसैको सन्तान भएर आउने बिपनामा ।

कुकुर मान्छे बन्न प्रयास गरिरहेको छ र मान्छे कुुकर बन्ने हतारोमा छ ।

कठिन अनि सृष्टिकै लीलामाथि व्यंगजस्तो लाग्ने कुकुरहरुको चोला भयानक पीडादायी लाग्छ मलाई । भावना उर्लेर हो या सत्य हो, म बेलाबेला कुकुरहरुको दुर्गती देखेर भावुक बन्छु अनि मान्छेहरुको दुःख सम्झेर उस्तै बन्छु । बेलाबेला मान्छे र कुकुरहरु बिचमा तुलना गर्छु ।

मान्छेको चोला पाएर मान्छेले अरुलाई घृणा गरेको आशक्तिपन देखाएर कुकुरले झैँ दाँत देखाएर हाँसिरहेको देखेको छु । पैसाभन्दा पर्तिर जीवन नदखेर अन्धकारमा दौडिरहेको मान्छेहरुलाई झेलेको छु मैले । अनि कुकुरले झैँ मान्छेले मान्छेको खुट्टा टोकेको समाचार लेखेको छु ।

बरु कुकुरहरुले मान्छेको जीवन बचाएका कथाहरु सुनेको छु । निष्पट्ट अँध्यारो कालरात्रीमा मान्छे कै सुरक्षामा लागि आफू असुरक्षित बनेका घटनाहरु देखेको छु । कुकुरहरुले सडकमा उत्तानो परेर ज्यानको बाजी थापेर कठिन अन्तिम जुनी पार गर्ने कसरत गरेको देखेको छु ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार