एउटा गाउँको कुनै एक घरमा आमा र छोरा मात्र बस्दा रहेछन, आमाले सानै उमेर देखि छोरालाई फकाउन गुण खुवाउने गर्नु भएको रहेछ।छोरोको उमेर बढ्दै गयो गुण खान मन गरि रहने मात्र हैन निन्द्रा बाट ब्युझिने साथ गुण दिनै पर्ने परिस्थिति निर्माण भए पछि गुण खुवाउन लाई पैसा पनि धेरै चाहिने व्यवहार चलाउन पनि कठिन भएको र छोरोलाई गुण सेवनले उसैको स्वास्थ्यमा समेत असर गर्न थालेको कारणले गर्दा छोरोलाई गुण छोडाउनलाई के गर्नु पर्छ भन्ने विषयमा गाउँघर छरछिमेकसंग आमाले बुझ्नुभयो। छिमेकीबाट सल्लाह प्राप्त भएछ, एकजना महात्मा हुनुहुन्छ, त्याहाँ छोरालाई लिएर जानुभयो भने तपाईको छोरालाई गुण खानबाट छोडाउन सक्नुहुन्छ भन्ने खबर आमाले पाउनुभयो। छोरालाई लिएर आमा महात्मालाई भेट्न जाने निधो गरि समय मिलाएर एक दिन महात्माकोमा जानुभएछ। महात्माले आफूसँग आउने भक्तहरूलाई पालैपालो भेट्दै जानुभयो। छोराको पालो आएपछि आमाले छोरा लिएर महात्मासंग भेट्न जानुभई आफ्नो सबै दृष्टान्त महात्मालाई सुनाउनु भयो।

महात्माले आमाले भन्नुभएको कुरा सुन्न साथ आजकै दिन एक हप्ता पछि छोरालाई लिएर आउनुहोस आमा भनेर भन्नुभएछ। आमाले पनि सोच्नु भएछ, गुण खुवाउन छोडाउनका लागि महात्माले औषधि बनाउने समय लिनुभएको होला। जडिबुटीबाट औषधि तयार गर्न समय पनि लाग्न सक्छ भनि मनमनै सम्झदै घर तर्फ फर्कनु भएछ।

आमालाई एकहप्ता बित्न समय धेरै लागेको जस्तो महसुस भै रहेको थियो। छोरोलाई गुण खान नदिदा उखपात मचाउछ। खुवाउनै पर्यो, तर पनि एक हप्ता बित्यो र महात्माले आउनु भनेको दिन नै छोरालाई लिएर भेटगर्न त्यसतर्फ जानुभएछ। छोराको महात्मा संग भेट गर्ने पालो आयो, महात्माले छोराको ढाडमा ढाँप मार्दै भन्नु भयो, बाबु अब तिमीले गुण खानु हुँदैन, गुण खायौँ भने तिम्रो स्वास्थ्यलाई असर पर्छ त्यसैले कसैले पैसा दिन्छु भन्दा पनि तिमीले गुण खानु हुँदैन, असल चरित्र भएको मानिसले असल काम गरेर उदाहरण देखाउनै पर्छ भन्नु भएपछि, महात्माले आमालाई भन्नुभयो, तपाई छोरालाई लिएर घर जानुहोस, अब तपाईँको छोराले गुण खाँदैन भनेर भन्नुभयो। यो कुरा सुनेर आमा अचम्मै हुनुभयो। आमालाई लागेको थियो, महात्माले जडिबुटीबाट औषधि तयार गरि खान दिनुहुनेछ तर औषधि बेगर कसरी छोराले गुण खान छोड्छ त भन्ने आमालाई लागे पनि एक पटक महात्माले भनेको कुरा हो हेरौं कतै छोडिहाल्छ कि भनेर आमाको मन अलमल हुँदा हुँदै घर फर्कनुको बिकल्प थिएन, त्यसैले घर फर्कनु भयो।

आमा घर आईपुग्नु भयो, नभन्दै छोरोले गुण खाने कुरा गर्दैन पनि, माग्दैन पनि, पैसा दिदा पो खान्छ कि भनेर आमाले छोरालाई पैसा दिन्छु बाबु गुण खा भन्नुभयो तर छोराले भन्यो आमा पैसा संग तुलना गरेर गुण खानेकुरा हुँदै हुँदैन, त्यसकारण महात्माले भन्नुभएको कुरा मैले मान्नुपर्छ त्यसैले छोराले खान्न भनेपछि आमा पनि र गाउँले सबै दङ्ग परे, गुण खान छोरोले छोडेको हुँदा आमा मनमनै खुशी हुनुभयो तर दुखी पनि हुनुभएछ। दुखी चाहि यो मानेमा हुनुभयो कि आखिर दवाई औषधि बिनानै महात्माले ढाडमा ढाँप मार्दा नै छोरोले गुण खान छोड्ने रहेछ, एक हप्ता अघि नै ढाडमा ढाँप मारि उपरोक्त कुरा भनेको भए छोराले गुण खान त्यही बेला छोड्ने थियो, मेरो एक हप्तामा गुण किन्न लाग्ने पैसा पनि बचत हुने थियो, समयको पनि बचत हुने थियो, म बुढी मान्छेले पनि दुख पाउने थिइन भन्ने आमालाई लागेर छटपटी भएछ र महात्मालाई म अवश्य सोध्न जान्छु भनि निधो गर्नुभएछ र एकदिन सोध्न नै जानु भएछ।

नभन्दै आमाले महात्मा संग सोध्न जानु भयो र भन्नुभयो, महात्मा आखिर ढाडमा ढाँप मार्दा नै त छोराले गुण छोड्ने रहेछ, किन एक हप्ता पर सार्नु भयो। एक हप्तामा छोराले खाएको गुणको पैसा पनि बचत गर्न सक्ने थिए। मलाई दुई पटक आउने जाने दुख कष्ट पनि हुनेथिएन भन्नुभएछ। त्यस पछि महात्माले आमालाई भन्नु भयो आमा म आफै गुण खान्थे। त्यो एक हप्ता म आफैले खाँदै गरेको गुण छोड्नका लागि तपाई संग समय मागेर लिएको थिए। मैले तपाईसंग मागेको एक हप्ताको समय भित्र नै गुण खान छोड्न सके। म चाहि गुण खाएर अरूलाई गुण नखा, खानु हुँदैन भन्न मिल्दैनथ्यो। मैले पहिलो पटक आउँदा तपाईको छोरालाई गुण छोडाउन त्यही भएर सक्दैनथ्ये र एक हप्ताको समय मैले मेरो लागि गुण खान छोड्ने समय लिएको थिए। एक हप्ताभित्र मैले पनि गुण खान छोड्न सफल भयपछि मात्र तपाईको छोरालाई गुण खानेकुरा छोडाउन सक्थे। त्यसैले मैले आफै गुण खान छोडेपछि बाबुलाई गुण खान छोडाउन सफल भएको मात्र हुँ आमा भनेर महात्माले भन्नुभएको कुराले आमालाई चित्त बुझेर घर फर्कनुभयो।

आमा, छोरा, गाउँले र महात्मा चार पात्रहरूको मिश्रणबाट, छोराले गुण खाएको विषय, गुण छोडाउन गाउँले समाजसँग अन्तरक्रिया गरि गुण छोडाउन महात्मा संग भेटगर्ने विषय र महात्माले छोरालाई ढाडमा ढाँप मार्दा नै गुण खानबाट छोडाउन सफल भएको विषयलाई समावेश गरि यो लेख तयार गरेको छु। यो लेखबाट के बुझ्न सकिन्छ भने आफू शुद्ध नभई अरूलाई शुद्ध बनाउन सकिने रहेनछ भन्ने विषयलाई उजागर गर्न खोजिएको छ ।

हाम्रो देशको शासन व्यवस्था मिश्रित प्रणालीय छ। यो व्यवस्था अनुसार जति पटक आवधिक निर्वाचन भएपनि कुनै एकदलको बहुमत आउन कठिन हुन्छ। समानुपातिक तर्फ आएको मतको आधारमा समानुपातिक तर्फको सिट संख्या तय हुन्छ। आफ्नो पार्टीको तर्फबाट उमेदवार बनेका प्रत्यक्ष तर्फका प्रतिनिधिलाई घाम वा पानी झरि नभनि लाइनमा लागेर मतदान गरि विजय बनाउँछौँ। पार्टीबाट विजयी भएका कुनै एक दलको मात्र सरकार नबन्ने भयपछि, दुई वा दुई दल भन्दा बढी पार्टीको बीचमा सरकार गठन गर्ने सहमति गर्दा न्युनतम साझा कार्यक्रम तयार गरि सरकार गठन गर्ने सहमति गरेका हुन्छन। हामीले लाइनमा लागेर विजय गराएका जनप्रतिनिधि उदाहरणीय बन्नेछन भन्ने हाम्रो चाहना हुन्छ तर पार्टीबाट हामीले निर्वाचित गराएका उच्च तहका नेता नै भ्रष्टाचार गर्ने र भ्रष्टाचारमा लिप्त हुने परिपार्टीले देशको विकास कसरी हुन्छ भन्ने टड्कारो प्रश्न पनि उब्जिन्छ।

पुराना पार्टीका बुढा नेताबाट अब देश बन्दैन भन्दै २०७९ मङ्सिर-४ मा हुने निर्वाचनमा भाग लिनु अघि, नयाँ पार्टी गठन गरेर ठूलो स्वरमा NO NAT AGAIN भनेर निर्वाचनमा आफ्नो पक्षमा मतदातालाई मतदान गराउन आकर्षित गराए पनि परिणाम पछि कुनै दुई वा दुईभन्दा बढि पार्टी नमिल्दा सरकार बनाउन सकिने परिणाम आएन। त्यसपछि NO NAT AGAIN भन्ने पार्टीका नेताले पनि तिनै बुढा नेताहरू संग टाँसिन कहिले बल्खु त कहिले पेरिस डाँडा धाउन थालेका देखेका छौ। बल्खुको कार्यालय भुकम्पले क्षतविक्षत पारेको हुँदा हाल नेकपा एमालेको केन्द्रीय कार्यालय तुलसीलाल स्मृति भवन च्यासलमा सारिएको छ। त्याहा तिनै बुढा नेताहरूसंग NO NAT AGAIN भन्ने नेताले AGAIN @AGAIN भन्दै सरकारमा जाने गरेको कुरा लेखि रहन नै पर्दैन, बार्दलीमा बसेर सुन्तला खादै हात हल्लाको पनि बिर्सनुहुँदैन तर समयले बिर्सने पनि बनाउदो रहेछ। निर्वाचनमा बनेको गठबन्धन भत्काउन सफल बनि तेस्रो पार्टीको नेताले सरकार प्रमुख बनि तेस्रो पटक विश्वासको मत लिएको पनि सबैले बुझेको विषय नै हो।

भ्रष्टाचार गर्ने तरिका पनि फरक/ फरक हुँदो रहेछ। कोही/ कोहीले नुन देखि सुनका डल्ला डल्लै पचाएका छन। नुन आफैंमा चर्को हुन्छ तथापि त्यो पनि पचाई रहेका छन, यति सस्तो नुनमा पनि भ्रष्टाचार व्याप्त छ। कोही चियापत्ति टिपेर त्यसबाट बनेको चियारङ्ग पकाई चिया खानु पर्नेमा चियाको बिरुवा रोप्ने जमिन नै खाएर पचाएका छन, कोही पँहेलो रङ् भएकोले सुन र पित्तल चिन्दैनन र भन्छन, पशुपतिनाथको जलहारी त पित्तलको पो परेछ पनि भन्छन।

कोही आफ्नो देशको नागरिक्ताको प्रमाणपत्र त्याग गरेर विदेश गई त्यहीको नागरिक्ता लिएर काम गर्छन। विदेशमा काम गर्दै गए पछि विदेश बस्न नसक्ने परिस्थितिको निर्माण हुन्छ, आफ्नै देशमा फर्किन्छन तर विदेशमा लिएको नागरिक्ता त्याग गरेको हुँदैन तर पनि आफ्नै देश नेपालमा फर्किन्छन। विदेश जाँदा त्याग गरेको नेपाली नागरिक्ता प्रमाणपत्रको नै आधारमा निर्वाचन लड्छन, बिजयी पनि बन्छन, सासंद भएको केही दिनमा नै उजुरी पर्छ सङ्घीय सासंद पद पनि सकिन्छ अदालतमा मुद्दा पर्छ। फेरि विदेशी नागरिक्ता त्याग गरेको कुनै प्रमाण पेश नगरि नेपालमा नागरिक्ता प्रमाणपत्र किर्ते गरेर पुन: बनाउछन, ठूला लाई कति लचिलो बन्छ यही नियम भने यही नियमले सानालाई भने जेल पठाइन्छ। वास्तविक्ता यही हो।

कोही ललीता निवास किर्ते गरेर आफ्नो नाउँमा जग्गाधनि प्रमाणपुर्जा ल्याउँछन, मुद्दा परेपछि फेरि सरकारलाई उक्त जमिन फिर्ता पनि गर्छन। तर फिर्ता गर्नासाथ चोखो पनि भै हाल्छन यो नेपालको नियम कस्तो रहेछ दैव नै जानुन जस्तो छ। यही काम साधारण जनताले गरेको भए जेलको कालो कोठरीमा बास बस्नु पर्ने हुन्थ्यो, तर नेतालाई भने विदेशको नागरिक्ता त्याग गरेको प्रमाण बेगर प्रहरीको संरक्षणमा नागरिक्ता बनाउन ल्याईन्छ।

सहकारीको पैसा कम्पनीमा ल्याउन पाईदैन तर “स” अक्षरबाट नाम जुराएर बनाएको पाँच वोटा सहकारीमा पचास हजार बचत कर्ताले राखेको बचत रकम सम्बन्धित गोर्खा मिडियाका अध्यक्ष र प्रबन्ध निर्देशक मिलेर पाँच वोटा सहकारीबाट करिब एक अर्ब बराबरको रकम अपचलन गरेर सरकारमा मन्त्री त्यो पनि गृहमन्त्री भएर बसेका छन। प्रतिपक्षमा हुँदा अलग र सरकारमा बस्दा अलग बोलेर छेपारोले रङ फेरे जस्तो फेर्ने मन्त्री देखि होसियार हुने दिन आएकोछ। गोर्खा मिडियाका अध्यक्ष जिबि राईलाई मलेसिया भागाएका छन। सहकारीको बचत कर्ताको पैसा तिर्छु भन्नु त परै जावोस, बचतकर्ता संग बहस गर्न तयार छु भनेर सरकारको जिम्मेवार गृहमन्त्रीले भनेको सुनिन्छ। त्यही कुरालाई आफ्ना कार्यकर्ताले सहमति जनाउदै रास्वपा जिन्दावाद भनि सामाजिक सञ्जाल रङ्ग्याएको देख्दा कस्तो अचम्म लागेर आउँछ ।?

संसदमा काङ्ग्रेस महामन्त्री एवं सङ्घीय सासंद विश्वप्रकाश शर्माले संसदमा सभामुखले बोल्न दिएको समयमा बोलेको कुराको सम्झना आउँछ र याहाँ पनि त्यही बोलीलाई राख्न मन लाग्यो। उहाँका अनुसार रास्वपामा कोर टिम, डोर टिम र पोर टिम मिलेर काम गर्ने गरेको देखिन्छ। कोर टिमले भित्रको सबै कुरा मिलाउँछ, डोर टिमले ढोकामा बसेर भ्रष्टाचारको कुरालाई ढाकछोप गर्ने गर्छन र पोर टिमले सामाजिक सञ्जाल मा रास्वपा जिन्दावाद लेखेर सञ्जाल रङ्ग्याउछन। यही रहेछ नयाँ पार्टीको नौलो पन भनेर गाउँघर समाजमा हल्ला पनि सुनिन्छ।

याहाँ प्रधानमन्त्रीको सपत लिनेले, “त्यो पर्दैन” र सपत खुवाउनेले “ही ही” गर्ने परिपाटीका कारण देशको छविलाई नै धूमिल बनाएको देखिन्छ। कोभिड-19 देखि नै प्रधानमन्त्री डाक्टर देखि न्यायाधीश बनेको उदाहरणको सिको गर्दै वर्तमान प्रधानमन्त्री पनि न्यायाधीश आफै बन्दै गृहमन्त्री रबि लामिछानेले भ्रष्टाचार गरेको छैन त्यसैले संसदीय छानबिन समिति बनाउनु पर्दैन भनिरहेका छन।

त्यो मात्र कहाँ हो र मैले माओवादी द्वन्द्वको समयमा सत्र हजार मरेका मानिस मध्ये पाँच हजारको चाहि जिम्मा म लिन तयार छु भन्दा पनि ऐन नियम कानुनले कहि छुदै नछुने हुँदा यो कस्तो राज्य हो र कस्ता/ कस्ता सरकार प्रमुख हुन्छन, आम जनतालाई भने ऐन नियम लाग्ने र जेल जानुपर्छ। नेतालाई भने छुट हुने जेल जानु नपर्ने, भनि जनताले चासो देखाउनु स्वभाविक देखिन्छ।

संसारभर असल कामको मात्र उदाहरण बनेको देखेका छौ। यहाँ त खराब कर्मको उदाहरण बनाउने पात्रको संख्या अत्याधिक देखिन्छन, नेपालको राजनीतिमा प्रधानमन्त्री कार्यकारी प्रमुख पद मानिन्छ। प्रधानमन्त्री स्वयमले नै गलत कामको उदाहरण दिन्छन। सर्वसाधारण जनता कसरी उदाहरणीय बन्छन ? यी प्रश्नको समाधान कहिले आउँछ ? जनताले चासोको साथ हेरिरहेका छन।

निर्दलीय निर्विकल्प पञ्चायती प्रजातन्त्रमा राजा को शासन थियो, प्रजातन्त्र पछि सम्बैधानिक राजा भएर बसेका राजा, वीरेन्द्र र उनको वंश नास भएपछि सबै दलले दाम चढाएर बनाएका तत्कालिन राजा ज्ञानेन्द्र लाई राजगद्दी प्यारो लागेन र मन्त्रिपरिषद को अध्यक्ष बनेपछि हामीलाई राजाको प्रत्यक्ष शासन उचित लागेन र ०६२/०६३ को आन्दोलन द्वारा राजसंस्थालाई हटाएर नागार्जुन दरबार पठाएको इतिहास साँची छ।

राजसंस्थामा राजाको स्वर्गारोहण पछि राजाको छोरो राजा बनाउने चलन गणतन्त्र स्थापना गर्ने पार्टीले हटाएका थिए। जनताको छोराछोरी नेपालको सम्बिधान २०७२ अनुसार राष्ट्रपति हुने व्यवस्था गरि पहिलो राष्ट्रपति सम्माननीय रामबरण यादब बनेका थिए, तर राजनीतिमा भने पार्टीले आवधिक निर्वाचन हुँदा पुराना कार्यकर्तालाई पाखा लाउदै बाबुको मृत्युपछि, कार्यकर्ताले चिन्दै नचिनेको व्यक्ति, बाबुको नामबाट चिनेने छोरालाई पार्टीले उमेदवार बनाउन कति ठीक हुन्छ ? कति बेठीक हुन्छ ? त्यही पार्टीका इमानदार कार्यकर्ताले विश्लेषण गर्छन वा गर्दैनन २०८१ बैशाख-१५ गते हुने सङ्घीय संसदको उप निर्वाचनमा मतदाताले गरेको मतपरिणाम आउञ्जेल सम्म पर्खनै पर्ने हुन्छ।

आमा छोरा र महात्माको कथा यथार्थ भएको महसुस गरि यहाँ उदाहरण बनाई यो लेख लेख्ने जमर्को गरेको छु। सरकार प्रमुख नै भ्रष्टाचारमा लिप्त छन त कोही नाइके बन्ने गरेका छन। सरकार प्रमुख नै भ्रष्टाचारका नाइके भएपछि भ्रष्टाचार गर्नु हुँदैन भनेर त्यही सरकार प्रमुखले भनेको कस्ले मान्छन ? त्यसैले सरकार प्रमुख र सरकारका मन्त्री र मातहतका सबै उच्च तहका कर्मचारीहरूले भनेको नमान्दा देशको परिस्थिति बिग्रिन्छ। लेखमा प्रमुख पात्र महात्मा जस्तो भएर अरूलाई राम्रो कर्म गर्न हौसला दिनु पर्ने राजनेता हुनुपर्ने थियो तर त्यो हुन सकिरहेको छैन। महात्मा जस्तो पात्र सरकार प्रमुख भएमात्र सरकारले राम्रो गति लिन सक्छ साथै मतदाताले घाम पानीमा लाइन लागेर मतदान गरेको सही अर्थ हुनेछ, उदाहरण योग्य हुनेछ। सरकारका सबै जननिर्वाचित जनप्रतिनिधि र उच्च तहका कर्मचारी साथै मातहतका कर्मचारीहरूले सुध्रने मौका पाउँथे र देशमा विकासले गति लिन्थ्यो भन्दै लेखलाई यही समापन गर्दछु। धन्यबाद

नारायणबहादुर बस्नेत
मेचीनगर – ८ झापा ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार