अरुण नेपाल / इलाम २ मा २०८१ साल बैशाख १५ गते सम्पन्न निर्वाचनमा १९ उम्मेदवार निर्वाचनको मैदानमा उत्रिए पनि मुलतः नेपालकै पहिलो, दोश्रो, चौथो दलका ३ र एक स्वतन्त्र गरी जम्मा ४ जना उम्मेदवारका बारेमा निर्वाचन अगाडिदेखि नै धेरै चर्चा भयो । २०८१ साल बैशाख १८ गते बिहान सम्पन्न मत गणना पश्चात् प्राप्त मत परिणाम अनुसार पनि उनीहरू मध्ये नै पहिलो, दोश्रो, तेस्रो र चौथो स्थान ओगट्न सफल भए । यस अर्थमा त्यो चर्चाको औचित्य एकहदसम्म पुष्टि भयो भन्न पनि सकिएला । तर निर्वाचनको परिणाम धेरैले अनुमान लगाए जस्तो चाहिँ देखिएन । मुख्य प्रतिस्पर्धी चार उम्मेदवार मध्ये पहिलो स्थान ओगट्न सफल एमालेका उम्मेदवारले अनुमान लगाए भन्दा धेरै मत प्राप्त गरे भने तेस्रो स्थान ओगट्न सफल पहिचान पक्षधर स्वतन्त्र उम्मेदवारले अनुमान लगाएजस्तै सम्मानजनक मत प्राप्त गरे । दोश्रो स्थान ओगट्न सफल नेपाली काङ्ग्रेसका उम्मेदवार अनुमान लगाए भन्दा धेरै फरक मतान्तरले उपबिजेता बने भने चौथो स्थान ओगट्न सफल रास्वपाका उम्मेदवारले त झन् अनुमान लगाए भन्दा धेरै नै कम मत प्राप्त गरी आफ्नो जमानत नै जोगाउन सकेनन् । यसरी यी चार उम्मेदवारले प्राप्त गरेको मत धेरैको अनुमान भन्दा निकै फरक पाइएकाले आज निर्वाचन परिणामका बारेमा विभिन्न जोड र कोणबाट विश्लेषण गर्ने कार्य भैरहेको छ । यहि मेसोमा ती चार उम्मेदवारका सफलता र असफलताका केही प्रमुख कारणबारे घोत्लदा उनीहरू सफल र असफल हुनुका प्रमुख कारण निम्नानुसार हुन सक्छन् कि जस्तो लाग्यो ।

१) एमाले सफल हुनुको प्रमुख आधार

उम्मेदवार चयन हुँदा नै राजनीतिक योगदानको कदर हुन नसकेको कुरा चर्कै ढंगले उठेपनि एमालेले इलाम २ को यो उप निर्वाचनमा २०७९ सालमा भन्दा धेरै मतान्तरले सफलता हासिल गर्‍यो । उतिबेला राष्ट्रिय व्यक्तित्वको उचाइ बनाएका नेता सुवासचन्द्र नेम्बाङले केवल ११४ मतको झिनो मतान्तरले मात्र बिजय हासिल गरेका थिए । तर यसपटक निर्वाचन अगाडि थोरै मानिसले मात्र नाम सुनेका र सुवासचन्द्र नेम्बाङ्गको तुलनामा अत्यन्तै कम राजनीतिक योगदान पुर्‍याएका उनकै छोरा सुहाङ्ग नेम्बाङ्गले ५८३० मतान्तरले उनै उम्मेदवारलाई पराजित गर्ने कुराले निर्वाचन अगाडि गरिएको अनुमान गलत सावित भएको छ । उनको यो सफलतामा नेकपा माओबादी केन्द्र र विप्लव माओबादीको बलियो समर्थन एउटा कारण बने पनि उनले यो सफलता हासिल गर्नुमा एमालेको बलियो साङ्गठनिक आधार नै बढी निर्णायक हो कि जस्तो लाग्यो । निर्वाचन अगाडिको अनुमान अनुसार उनको धेरै मत पहिचान पक्षधर उम्मेदवारले काट्छ्न भन्ने लागेको थियो । तर त्यो अनुमानलाई गलत सावित गर्दै एमालेका नेताकार्यकर्ता र मतदाताले एमालेलाई नै मतदान गरेको पाइयो । यसरी उनीहरू आफ्नो दलप्रति प्रतिबद्ध देखिनुमा एमालेको बलियो साङ्गठनिक आधार नै प्रमुख कारण हो भन्ने मेरो बुझाइ रह्यो ।

२) काङ्ग्रेस असफल हुनुको चुरो

बुबा सुवास नेम्बाङ्गसङ्ग नै अत्यन्तै झिनो मतले मात्र पराजित नेपाली काङ्ग्रेसका उनै उम्मेदवारले छोरा सुहाङ्ग नेम्बाङ्गलाई सजिलै पराजित गर्दै यसपटक बाजी मार्नेमा नेपाली काङ्ग्रेस ढुक्क जस्तै थियो । नेपाली काङ्ग्रेसले उनै उम्मेदवारलाई दोहोर्‍याउनुमा पनि यहि तर्क अघि सारेको थियो; भलै अघिल्लो निर्वाचनमा उस्ले त्यति सम्मानजनक मत ल्याउनुमा माओबादी केन्द्र सहितको गठबन्धन पनि एउटा कारण थियो भन्ने कुरालाई उस्ले खासै महत्व दिएको थिएन । त्यति मात्र होइन, नेपाली काङ्ग्रेसका दुवै महामन्त्री र अर्का प्रभावशाली नेता शेखर कोइराला लगायतका अरु धेरै काङ्ग्रेसका नेताले एकताबद्ध रुपमा उम्मेदवार भन्दा पनि रुखमा मत माग्दा यसपटक काङ्ग्रेसकै पल्ला भारी छ भनी काङ्ग्रेस इतरका धेरै मानिसले पनि अनुमान लगाएका थिए । तर २०७९ सालको निर्वाचन सम्पन्न भएपछि सामाजिक संजालभरी नै छताछुल्ल भएको नेपाली काङ्ग्रेस, इलामको आन्तरिक कलहले यसपटक नेपाली काङ्ग्रेसलाई निकै ठूलो क्षति भएको हो कि भन्ने मेरो चाहिँ विश्लेषण छ । यो विश्लेषणको मुख्य आधार काङ्ग्रेसले चुलाचुलीमा प्राप्त गरेको मत नै हो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्ष जित्न सफल उक्त पालिकामा काङ्ग्रेसले पहिलो मत पाउला भन्ने लागेको थियो । तर उस्ले उक्त पालिकामा तेस्रो मत मात्र प्राप्त गर्‍यो । उक्त पालिकामा उस्ले त्यति कम मत पाउनुमा २०७९ सालको निर्वाचन सम्पन्न भएपछि नेपाली काङ्ग्रेसको आन्तरिक कलह सामाजिक संजालभरी छताछुल्ल हुनु नै हो जस्तो लाग्छ । उक्त कलह त्यसरी छताछुल्ल भएपछि त्यसको नकारात्मक असर चुलाचुलीमा मात्र नपरेर इलाम काङ्ग्रेसमै पर्‍यो । त्यस्तै नेपाली काङ्ग्रेसको आन्तरिक बिबादकै कारण उम्मेदवार चयन प्रक्रिया अत्यन्तै ढिलो हुँदा पनि नेपाली काङ्ग्रेसले यो क्षती बेहोर्ने पृष्ठभुमि बन्यो जस्तो लाग्छ । त्यसकारण नेपाली काङ्ग्रेसको यो असफलताको प्रमुख कारण उस्को आन्तरिक कलह नै हो जस्तो लागेको छ । रास्वपाको उपस्थितिले उसलाई क्षती हुन सक्ने धेरैको अनुमान पनि सहि सावित हुन सकेन । एमाले र उस्ले प्राप्त गरेको मतवीचको फरक (५८३०) जति छ, त्यो भन्दा पनि कम मत (५०५०) रास्वपाले प्राप्त गर्नुले पनि रास्वपाको उपस्थितिले नेपाली काङ्ग्रेसलाई धेरै असर गरेजस्तो लागेन । त्यसैले उस्को असफलताको चुरो कुरो उस्को आन्तरिक विवाद र कलह नै हो जस्तो लाग्यो ।

३) स्वतन्त्र उम्मेदवारले सम्मानजनक मत पाउनुको कारण

माओबादी केन्द्रको मात्र नभएर विप्लवको समेत साथ पाएको एमाले, एकताबद्ध नेपाली काङ्ग्रेस र बैकल्पिक शक्तिको रुपमा उदाउदै आएको रास्वपाको सक्रिय सहभागिता जस्ता चुनौती सामना गर्दै निर्वाचनको मैदानमा उत्रने कुरा कुनै पनि स्वतन्त्र उम्मेदवारका लागि फलामका चिउरा चपाए सरह नै थियो । यहि कुरा इलाम २ को यहि निर्वाचनमा भाग लिएका अन्य स्वतन्त्र उम्मेदवारको अत्यन्तै दयनीय अवस्थाले पनि राम्ररी नै प्रमाणित गरेको छ । इलामका अन्य स्वतन्त्र उम्मेदवारले आफ्नो जमानत जोगाउन नसक्नु नै यो तर्कलाई पुष्टि गर्ने प्रमुख आधार हो । त्यो भन्दा पनि अझै मननीय कुरा त यो छ कि – यो उप निर्वाचनमा इलाम मात्र नभएर नेपालकै बाम आन्दोलनका एक हस्ती तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालकै दल नेकपा एसको अवस्था पनि धेरै कमजोड देखियो । यस्तो प्रतिकुल परिस्थितिमा समेत पहिचानको मुद्दा बोकेर निर्वाचनको मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले सम्मानजनक मत (११४५७) प्राप्त गर्दै तेस्रो स्थान ओगट्न सफल हुनु उनले यो उप निर्वाचनमा हासिल गरेको नैतिक बिजय नै हो भन्दा पक्कै पनि अतिशयोक्ति नहोला । उनले यो सफलता हासिल गर्नुमा पहिचानको मुद्दाले नै निर्णायक भुमिका खेल्यो ! अझै कतिपय वडामा र एक पालिकामा पहिलो र कतिपय वडा र पालिकामा दोश्रो स्थान ओगट्न सफल स्वतन्त्र उम्मेदवार थेगिमले निर्वाचनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सबै दल र सरकारलाई चर्कै दबाब दिएका छन् । स्वतन्त्र उम्मेदवारको मुद्दा केन्द्रित यो सफलताले निर्वाचनका समयमा उठान हुने मुद्दाको महत्व कति धेरै हुदोरहेछ भन्ने सन्देश मुलुकैभरि प्रवाह भएको छ । मुलुकैभरि इलाम छर्न चाहनेहरुका लागि यो सन्देश अर्को एउटा मननीय विषय थप भएको छ ।

४) रास्वपा असफल हुनुको रहस्य

२०७९ सालको आम निर्वाचनमा राष्ट्रव्यापी रुपमै चौथो ठूलो दल बन्न सफल र २०८४ सालमा बहुमत ल्याउने हिम्मतका साथ त्यही सन्देश मुलुकैभरी छर्न आतुर रास्वपालाई इलाम २ मा अपेक्षा गरेभन्दा धेरै कम मत प्राप्त हुनुले रास्वपाको पाटी जीवनमा निकै ठूलो धक्का पुगेको छ । निर्वाचन अघि जुन तामझामका साथ उस्ले इलाममा घण्टी बजाएरै छाड्ने अठोट गरेको थियो, त्यो तामझामलाई निर्वाचन परिणामले निकै नराम्ररी गिज्याइदियो । उस्ले १० हजार भन्दा बढी मत प्राप्त गरी कम्तिमा तेस्रो स्थान त ओगट्ला भन्ने धेरैको अनुमान गलत सावित भयो । उस्ले आफ्नो जमानत समेत जोगाउन सकेन । इलाम २ को यो उप निर्वाचनमा उ यसरी असफल हुनुमा अन्य धेरै कारण होलान्; तर उ यसरी असफल हुनुको प्रमुख कारण मध्ये उस्को संघीयता सम्बन्धी अस्पष्ट नीति र विचार नै एउटा प्रमुख कारण हो जस्तो लाग्यो । इलाममा मात्र नभएर बिबादास्पद कोशी प्रदेशमै पहिचानको मुद्दा निकै पेचिलो ढंगले उठेको छ । तर प्रदेशमा उम्मेदवारी नै नदिएर रास्वपा प्रदेशको अस्तित्व नै अस्वीकार गरिरहेको छ भने उस्को यो पेचिलो मुद्दासङ्ग के साइनो सम्बन्ध छ र भनेर पनि इलाम २ का मतदाताले उस्लाई नपत्याएका हुन् कि जस्तो लाग्यो । यद्यपि उस्को कमजोड सङ्गठन र नितान्त नयाँ उम्मेदवार पनि उस्को असफलताका अन्य प्रमुख कारण हुन सक्लान !

निश्कर्ष

इलाम २ मा सम्पन्न यो उप निर्वाचनमा धेरैले अनुमान लगाए भन्दा निकै फरक मत परिणाम प्राप्त भयो । यो उप निर्वाचनमा सफल हुने एमालेले अनुमान गरे भन्दा बढि सफलता हासिल गर्नुमा उस्को बलियो साङ्गठनिक आधार नै एउटा प्रमुख कारण हो जस्तो लाग्यो । स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले सम्मानजनक मतका साथ तेस्रो स्थान ओगट्न सफल हुनुमा पहिचानको मुद्दा नै मुख्य कारक तत्व हो जस्तो लाग्यो । नेपाली काङ्ग्रेसले अनुमान लगाए भन्दा ठूलो असफलता हात पार्नुमा उस्को आन्तरिक विवाद र कलह नै प्रमुख कारण हो जस्तो लाग्यो । रास्वपाले इलाम २ मा निकै नमिठो हार बेहोर्नुको कारणमा उस्ले संघीयता र पहिचान जस्ता पेचिला मुद्दाका बारेमा स्पष्ट विचार अघि सार्न नसक्नु नै प्रमुख कारण हो भने उस्को कमजोड सङ्गठन पनि दोश्रो प्रमुख कारण हो जस्तो लाग्यो । यो उप निर्वाचनको समग्र विश्लेषण गर्दा कुनै पनि निर्वाचन जित्न बलियो साङ्गठनिक आधार, एकताबद्ध पाटी, पेचिला मुद्दा र वैचारिक स्पष्टता हुनेपर्ने रहेछ जस्तो लाग्यो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार