मानिसको जन्म पनि अनौठो/अनौठो तरिकाले भएको देखिन्छ। महलमा बस्ने आमाबाबाले जन्मदिने बच्चा बच्ची महलमा बसेकै आधारमा जन्म दिन्छन भने, झुपडीमा भएको खाटमा बस्ने आमाबाबाले जन्मदिने बच्चा बच्ची खाटमा वा भुईमा नै जन्म दिन्छन भने त्यो भन्दा पनि तल्लो वर्गमा रहेका आमाबाबुले जन्मदिने बच्चा बच्चीलाई हिड्दा हिड्दै जन्माउछन त कोही कसैले नदेख्ने ठाउँमा गएर जन्माउने साथ सोही ठाउँमा बच्चालाई छोडेर जान्छन त कोही आमा कति निर्दयी हुन्छिन भने, जन्मनसाथ नै बच्चा मृत्युको सिकार बनाउँछन।

बच्चा हुर्कदै जान्छन, उनीहरूलाई असल व्यक्ति बनाउनका लागि पढ्न पठाइन्छ। यसमा पनि अति धनि, मध्यम, निम्न मध्यम र गरिवीको रेखा मुनिका अभिभावकहरूले आफ्नो आम्दानीको अनुपातको आधारमा पढाइन्छ। अघिल्लो जन्ममा कस्तो कर्म लिएर आएका छौ, त्यही आधारमा उनीहरूले पढ्ने प्रकृति पनि बनिदै जान्छ। त्यसैले हामीले अति ढनाढ्य, मध्यम धनि, गरिब र अति गरिब पनि देखेका छौ। ती मध्ये बाट पनि कुनैले वंशलाई जोगाई राख्न भनेर गरिब र अति गरिब परिवारबाट पनि असल चरित्रका व्यक्ति पनि पढाइमा अब्बल बनेर निस्कने गर्छन र त्यस्ता वंशलाई पनि देखेका छौ।

पढ्दै जाँदा कोही दश कक्षामा नै माया जालमा रमाउँछन कोही/कोही एघार बाह्र मा रमाउँछन भने कोही त्यो भन्दा माथि पुगेपछि रमाउँछन। त्यसैले छोराछोरीलाई विवाह गरिदिन्छौ, विवाह गर्नुको मुख्य कारण पनि अभिभावक पनि पैतालिस पचास बर्षको उमेर आसपास पुगि सकेका हुन्छन। विवाह गरि दिनुपर्ने दायित्व पनि आमा बाबाको नै हो।

छोराछोरीलाई विवाह नगरुञ्जेल समस्याको रूपमा नै हामी सबैले लिने गरेका हुन्छौ। त्यही आधारमा सन्यासी जीवन लिन नसक्नेले गृहस्थी जीवन पुरा गर्नका लागि हामी अग्रसर हुन्छौ, हामीलाई वंश पनि चाहिएको हुन्छ। त्यसैले पहिलो प्राथामिक्ता नै विवाह गरिदिनु नै प्राथामिक क्षेत्रमा हुन्छ। त्यसैले त गीतको बोलले पनि यसलाई नै आघार मान्दै भन्छ:-,

अठार बीसमा माया र पिरम
बीस काटे छोराको बाउ
पचास काटे नातिको बाजे,
ढल्क्यो है जिन्दगी ढल्क्यो!!

जब छोरा छोरी बढ्छन, पढ्छन, विवाह गर्छन उनीहरू बढेर हुर्केर बाबा आमाले आफूलाई हुर्काउने, पढाउने, बढाउने, विवाह गरिदिने दायित्व पुरा गरिन्छ त्यसपछि नाता नातिनी जन्म लिन्छन त्यसपछि पौराणिक उखान अनुसार, “माया ओरालो लाग्छ” पाकेको धानमा पानी लाउनुको अर्थ छैन” भनिन्छ। त्यसैले हिजो हामीले जे गरेका थियौ, छोराछोरीले आज त्यही गरेको हो भनेर चित्त बुझाउनु शिवाय केही हुँदैन। बढ्दो उमेर हुन्छ कामगर्ने शक्ति कमजोर हुँदैजान्छ, त्यसैले त गीतको बोलले फेरि पनि भन्ने गर्छ:-,

सन्तान ज्ञानी जन्मे छन भने
बसौंला खाटमा
नभए जीवन एस्तै नै रैछ
बारीको पाटामा, बाबा ढल्क्यो है जिन्दगी ढल्क्यो!!

जीवन यापनको क्रममा सन्तानलाई उच्च शिक्षा दिलाउन र अरू भन्दा राम्रो संस्कार दिनका लागि साथै प्रतिस्पर्धामा अब्बल बनाउनका लागि आर्थिक चाहिन्छ। पैसा राखेकोले पुग्दैन, राजाको पालामा राजाको मोहर ओहोरदोहोर भनिन्थ्यो भने लोकतन्त्रमा जनताको मोहर ओहोरदोहोर भनिन्छ। यही मोहर कमाउनका लागि खेती गर्छौ, गाई भैँसी बाख्रा पाठा पाल्छौ, त्यही बिक्री गरेर छोराछोरीको शिक्षा, स्वास्थ्य, औषधिउपचार, चाडपर्व, लुगाफाटो, पाहुनालाई सत्कार गर्नैपर्छ यसरी दु:ख कष्ट लिएर कमाइन्छ तर परिवारले त्यसको कुनै मोल दिदैनन र अर्थ राखेनन भने बडा नमीठो अनुभूति हुन्छ त्यसैलै गीतको बोलले फेरि पनि भन्दैछ :-,

गोठैमा भरि गाई र भैँसी
ठेकीमा मोइ छैन
मनको बह कसलाई पो सुनाउ
सुन्दिने कोही छैन, बाबा ढल्क्यो है जिन्दगी ढल्क्यो!!

हाम्रो जीवनको वास्तविक गाउँले जीवन नै यसरी बितेको हुन्छ। शहरमा बसि व्यापार गर्नेले पनि आफ्नो व्यापार सहज पूर्वक संचालन गरेका हुन्छन भने कोही कोही व्यापारीले कालो धन्दा गरेर पैसा कमाई रहेका हुन्छन। त्यस्तै सरकारी र गैर सरकारी कर्मचारी पनि हुन्छन। ती मध्येबाट कोही सही तरिकाले मासिक पारिश्रमिकमा चित्त बुझाउँछन भने कोही चाँडै पैसा कमाउने नाउँमा सेवाग्राहीलाई सास्ती दिएर कमाउँछन त कोही भ्रष्टाचार गरेर रातारात अरबपति बन्छन।

राजनीति भनेको जनताको सेवा हो भन्ने उदेश्य लिई निर्वाचनमा उमेदवार हुँदा बुझेपनि विजयी बनेर गएपछि भ्रष्टाचारमा लिप्त हुन्छन, नेपालमा नै भ्रष्टाचारका अनेकन उदाहरण आएका छन, यी सबै हामीले सुनेको विषय हो। सक्कली नेपाली नक्कली भुटानी शरणार्थी बन्न तयार हुन्छन भने बनाउन पनि तयार हुन्छन। ललीता निवास काण्ड, नुन देखि सुन काण्ड यस्ता काण्डै काण्ड गरेर पैसा कमाउने नेता भएपछि देशले गति लिन सक्दैन, राजनीति जहिले अस्थिर हुन्छ भने भ्रष्टाचारीले जहिले आफूलाई नै अब्बल ठानेको हुन्छ। भ्रष्टाचार गर्न सरकारमा नै पुग्नुपर्छ भन्ने पनि हुँदो रहेनछ भन्ने केही उदाहरण पनि हाल देखिदैछ। संसद भवनमा ठूलो बहसको विषय बनेको छ। पैसा ठगी गरी खाएर पचास हजार बचतकर्ताको पैसा तिर्छु भन्नु त परै जावोस सरकारको गृहमन्त्री भएपनि बाहिर बसेर जहाँ भने त्यही बहसको चुनौती दिई रहेकाछन भने, त्यही चुनौतीलाई स्वीकार गर्दै प्रतिपक्षको तर्फबाट नेपाली काङ्ग्रेस महामन्त्रीले नेपाल सरकारको प्रमुख प्रशासन केन्द्र रहेको सिंहदरबारभित्र संसदीय छानबिन समितिको कार्यालयमा बहस गर्न निमन्त्रणा गरेका छन, त्यसैलै यसरी भ्रष्टाचार गरेर कमाउनेका लागि गीतको बोलले फेरि पनि यसरी भन्दैछ:-,

नराम्रो मनले कमाको धन
अन्त्यमा नास हुन्छ,
धर्म र कर्म गर्नु है पर्छ
स्वर्गमा बास हुन्छ बाबा स्वर्गमा बास हुन्छ, आमा स्वर्गमा बास हुन्छ, दाजु स्वर्गमा बास हुन्छ, भाउजू स्वर्गमा बास हुन्छ,साथी स्वर्गमा बास हुन्छ!!

त्यसैले भ्रष्टाचार र अनियमित गरेर कमाउने भ्रष्टाचारलाई यो सन्देश दिन चाहान्छु। विज्ञानले आविष्कार गर्नेपनि प्राकृतिक स्रोत र ज्योतिष बिज्ञानको आधारलाई नै मुख्य विषय बनाएको हुँदो रहेछ। बिज्ञानले सिसी क्यामेरा आविष्कार गर्यो तर त्यो चिज चल्नका लागि बिजुली चाहिने रहेछ। सिसी क्यामेरामा कैद गरेको प्रमाणलाई केही हटाउन पनि सकिन्छ, पुरै हटाउन पनि सकिदो रहेछ तर भ्रष्टाचारले गरेको प्रतिफलको कारवाही चाहि यमराजको दुत चित्रगुप्तले राखेको हुँदो रहेछ त्यसलाई न केही हटाउन सकिन्छ न पुरै हटाउन सकिन्छ, न पानी झरीले मकाउँछ, न घामले सुकाउँछ यही हो प्रकृतिको खेल रातो किताबमा लेखे अनुसारको कारवाही अवश्य भोग्नु पर्दोरहेछ। स्वर्गमा बास पाउनका लागि गरिने काम गरियो भने मात्र स्वर्गमा बास पाईने रहेछ भनेर गीतले पनि सन्देश दिएको छ। आम मानिसले यो विषयको अनुसरण गरियो भने परिवार, गाउँ शहर समाज साथै देशको भलो हुने रहेछ र स्वर्गमा बास पाउने रहेछौ।

अन्त्यमा भोजराज काफ्लेको स्वर शब्द र सङ्गीतलाई मेरो लेखको बीच बीचमा राख्दा लेख अझै राम्रो हुने महसुस गरि यो लेख तयार गरि सञ्जालमा पोष्ट गरेको छु। धन्यबाद

नारायणबहादुर बस्नेत
मेचिनगर :- ८ झापा ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार