नेत्र बिक्रम बिमली / वनियानी   । झापाको दक्षिणी सिमामा अवस्थित कचनकवल  गाउँपालिकामा  ४३०४ जनाले सामाजिक सुरक्षा भत्ता लिएको  गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंसीले   दिनुभएको जानकारी अनुसार सामाजिक सुरक्षा भत्ता बाहेक अति विपन्न  १५ सय परिवारलाई पालिकाको नीति तथा कार्यक्रम मार्फत छुट्टाएको रकमबाट स्वास्थ्य विमा समेत गरिएको छ ।

अध्यक्ष राजवंसीका अनुसार  अघिल्लो आर्थिक बर्ष  २०७९/०८० मा  विमा गरिएका १ हजार परिवारले  बिमा नवीकरण गर्दा २५ प्रतिशत रकम बुझाउनु पर्छ भने आर्थिक बर्ष २०८०/०८१ को बजेट मार्फत थप ५ सय परिवारलाई भने पालिकाले नै निशुल्क बिमा गरिदिएको छ ।

त्यस्तै अध्यक्ष राजवंसीका अनुसार कचनकवल गाउँपालिका भित्रका गर्भवती महिलालाई समेत निशुल्क बिमा गरिदै आएको छ ।

आर्थिक रुपले अति विपन्न परिवारको बसोबास रहेको कचनकवलमा स्थानीय सरकारले जनमुखी र दिगो कार्यक्रम गर्न शुरु गरेको अध्यक्ष राजवंसीले बताउनुभयो ।

गाउँ पालिकाले उपलब्ध गराएको चालू आर्थिक बर्ष २०८०/०८१ को चौथो त्रैमासिक  सम्म सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ४ हजार ३ सय ४ पुगेको छ । नेपाल सरकारले प्रदान गर्ने ८ वटा कलस्टरका १७४१ पुरुष र २५७३ महिलाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छ्न ।

 कचनकवल   गाउँपालिकाका ७ वटा वडाबाट पहिचान गरि पठाएका जेष्ठ नागरिक ,जेष्ठ दलीत ,एकल महिला ,विधवा ,पुर्ण अपांगता ,अति अशक्त र अपांगता ,दलित बालबालिका र लोपोन्मुख समुदायलाई नेपाल सरकारले तोके बमोजिमको सामाजिक सुरक्षा भत्ता पालिकाले प्रत्येक ३/३ महिनामा बैक मार्फत उनिहरुकै खातामा हालिदिने गरेको अध्यक्ष राजवंसीले जानकारी दिनुभयो ।

कचनकवल गाउँपालिकाले  उपलब्ध गराएको विवरण अनुसार १३६९ पुरुष र १३०४ महिला गरि २६७३ जना जेष्ठ नागरिकले मासिक ४ हजारकादरले जेष्ठ नागरिक भत्ता पाउने गरेका छ्न ।

 त्यसैगरी  ६० देखि ६८ उमेर समुहका जेष्ठ दलित २२  पुरुष र ९ महिला गरि ३१ जनाले मासिक २३६० जेष्ठ दलित भत्ता प्राप्त गर्ने गरेको  पालिकाले उपलब्ध गराएको  विवरणमा जनाइएको छ ।

त्यस्तै  ३६३ जना  एकल महिला र ६०० जना  विधवा महिलालाई मासिक २६६० का दरले भत्ता उपलब्ध गराउदै आएको छ भने १०४ जना पुर्ण अपांगता भएका ५५ पुरुष र ५९ जना  महिलाले समेत मासिक ३९९० का दरले अपांगता भत्ता प्राप्त गरिरहेका छ्न ।

त्यसैगरी  अति अशक्त अपांगता भएका २३७ पुरुष र १७९ जना  महिला गरि ४१६ जनाले मासिक २१२८ रुपैयाँ भत्ता प्राप्त गरिरहेको विवरणमा उल्लेख छ ।

त्यस्तै  दलित बालबालिका ३९ पुरुष र २६ महिला गरी ६५ जनाले मासिक ५३२ रुपैयाँका दरले भत्ता पाउने गरेका छ्न भने  लोपोन्मुख जातिका १९ पुरुष र ३४ महिला गरि ५३ जनाले मासिक ३९९० रुपैयाँ का दरले सामाजिक सुरक्षा भत्ता लिने गरेको गाउँपालिकाले जनाएको छ ।

कचनकवल  गाउँपालिकामा मात्र बार्षिक सामाजिक सुरक्षा भत्ता मार्फत ५ करोड ९५ लाख भन्दा बढी खर्च हुने गरेको पालिकाले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार