द्रोण अधिकारी । रसिलो तथा गुणस्तरीय भएकै कारण भारतीय बजारमा नेपाली सुपारीको माग उच्च छ । केही वर्षयता भारत सरकारले नेपाली उत्पादन सुपारीलाई आयात गर्न कडाइ गरेपछि सुपारी कृषकले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् । यसको प्रमुख कारण तेस्रो देशबाट आयतित हुने सुपारी रहेको कृषकहरुको गुनासो छ । नेपालमा सुपारी प्रशोधन गर्ने स्तरीय प्रशोधन केन्द्र नहुनु, भएका सुपारी प्रशोधन केन्द्र पनि तेस्रो देशको सुपारी नेपाली बनाउने र रातारात करोडौं कमाउने कालो व्यापारिक केन्द्र बन्दा बास्तविक नेपाली उत्पादन सुपारीले मार खप्नु परिरहेको छ । तेस्रो देशबाट आयातित हुने सुपारी नेपाली सुपारी जस्तो गुणस्तरीय नभएका कारण नेपाली सुपारीमा मिसावट गरी भारततिर पठाउन थालेपछि भारत सरकारले गुणस्तरको प्रस्न उठाउँदै नेपाली सुपारी आयातमा कडाइ गरेको हो । तर बैध बाटोबाट नेपाली सुपारी भारत जान नसके पनि अबैध बाटोबाट दिनहुँ हजारौं किलो गइरहेको छ ।

अबैध बाटो हुँदै नेपालबाट भारततर्फ सुपारी निकासी गर्दा राम्रो फाइदा हुने भएपछि स–साना व्यापारी, मजदुर एवं ठुलाबडा उद्योगी समेत यो व्यवसायमा आकर्षित भएका छन् । अबैध कारोवार रोक्ने प्रहरी प्रशासन समेत सुपारीलाई कमाइको राम्रो स्रोत बनाउन लागेपछि सुपारी तस्करी तीव्र बन्दै गइ रहेको छ । नेपाल भारत सिमा क्षेत्रमा खटिने प्रहरीले घुमाउरो तरिकाले सुपारी तस्कर बचाइ रहेका छन् । नेपाली उत्पादन सुपारीले उचित मूल्य पाउँदैन, तस्कर यही सुपारीबाट मालामाल छन् भने कानुनको रक्षक सुरक्षाकर्मी सिद्धान्तमा सिमित भएर तस्करी सुन्य बताइ रहेको छ । व्यवहार उल्टो हुँदा कृषक र उत्पादक निरास बन्ने अवस्था छ । यसबेला राज्यको जिम्मेवारी तस्कर र काला बजारीसित जोडिएको अनुभूति सुपारी किशानमा छ ।

सिधा देखिने गरी सुपारी तस्करीमा प्रहरीले कडाई गर्न थालेपछि घुमाउरो शैलीमा विभिन्न नाका र माध्यमबाट सुपारी तस्करी भइरहेको छ । मुख्य गरी झापाको काकरभिट्टा, बाहुण्डाँगी, सतिघट्टा, नकलबन्दा, भद्रपुर, पाठामारी, बनियानी, केचना, घेरावारी, टागनडुब्बा, गौरीगञ्ज लगायत क्षेत्रबाट अबैध निर्यात नाकाका रुपमा उपयोगी बनाइ रहेका तस्कर समूहले पछिल्लो समय उत्तरी नाका बाहुण्डाँगी र दक्षिणी नाका केचनालाई सुपारी भारत निकासीका लागि सहज रुपमा प्रयोग गरीरहेका छन् । आयातित सुपारी मध्ये ९८ प्रतिशत इण्डोनेसिया र २ प्रतिशत सिंगापुरबाट आयात हुने गरेको छ । जो सामान्यतया खानका लागि अयोग्य सुपारी भएता पनि मधुगुट्खा जस्ता सूर्ति जन्य पदार्थमा मिसावटका लागि सस्तो दरमा नेपाल भित्र्याइएको हो । यही सुपारीका कारण नेपाली गुणस्तरीय सुपारी समेत गुणस्तरहिन बन्नु परेको छ । वैध बाटोबाट नेपाली सुपारी सहजै भारत प्रवेश पाउँदैन । किशानले सिधै भारत पठाउन नसकेपछि तस्कर समूहको मूल्यमा नेपाली सुपारी बिक्री हुँदै आइरहेको छ । खासगरी सुपारीका लागि झापा र मोरङ उर्वर उत्पादन भूमि हुन् ।

झापाका विभिन्न ग्रामिण क्षेत्रमा उत्पादन हुने सुपारी तस्कर समूहले भारत निर्यातमा रोक लागेको भन्दै न्युन शुल्कमा खरिद गरी प्रहरी प्रशासनसित मिलेमतो गरी भारत निकासी भने गरिरहेका छन् । दक्षिणी नाकाबाट भारत पठाउने व्यापारिक समूहले भद्रपुर र बनियानीमा जम्मा गरेको नेपाली सुपारीमा तेस्रो देशबाट आयातित सुपारी मिसाएर विभिन्न झुण्ड बनाई भारततिर पठाइ रहेका छन् । किशानसित नेपाली ५० रुपैया पनि प्रति केजी सुपारी किन्न नमान्ने तस्कर समूहले ३ सय ५० रुपैया भारतीय मुद्रामा नेपाली सुपारी बेचिरहेका छन् । नेपालका सुरक्षाकर्मी, भारतीय सुरक्षा कर्मी र व्यापारिक समूह बीच सुपारी वारपारका लागि ५० प्रतिशतसम्म हिस्सेदारी रहने गरेको छ । सिद्धान्ततः नेपालबाट भारत सुपारी जाँदैन तर व्यवहारिक रुपमा हेर्ने हो भने देखिने गरी नै मिलेमतोमा नेपाली सुपारी भारततिर सहजै गइरहेको छ । किशानले लगानी अनुरुप मूल्य पाउँदैनन् तर तस्कर र संरक्षकले विना लगानी चर्को आम्दानी गरिरहेको अवस्था छ । तस्करको जालो तोड्न नसक्ने सरकारले नेपाली उत्पादनको सुरक्षा कसरी गर्न सक्ला ?

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार