हल्दिबारी न्यूज डेक्स-चन्द्रगढी : चियाको पहिलो टिपाइ सुरु भएको छ । यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ । ‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया सबै सिजनको भन्दा उत्कृष्ट मानिन्छ । सदाभन्दा यस वर्ष चियाको परिमाण बढेको अनुमान रहेको यहाँस्थित देउमाई नगरपालिकाका उद्यमी सोम शर्माले बताए ।
पानी नआएकाले चिन्ता थियो । गत साता पानी परेपछि चिन्ता हल भएको छ, शर्माले भन्नुभयो, यसपटक अन्तरराष्ट्रिय बजारमा भाउ पनि राम्रो छ । गत वर्ष तयारी चियाको मूल्य रु ९५ थियो भने अहिले रु १०० हाराहारीमा छ । चैतको पहिलो सातादेखि चियाको पहिलो टिपाइ शुरु हुन्छ ।
फागुन मध्याह्नदेखि अन्त्यसम्ममा आकाश पानी परेमा चियाको उत्पादन बढ्छ । वैकल्पिक उपाय नहुँदा अहिले पनि किसानले आकाशे पानीकै भर पर्नुपर्छ । यदि चैत अन्त्यसम्ममा पानी नपरेमा उत्पादन घट्ने सम्भावना हुन्छ । पटकपटक यो समस्या किसानले भोग्नुपरेको छ । आकाशे पानी सङ्कलनमार्फत पानी सञ्चितीकरण गर्नुपर्ने अर्का चिया उद्यमी उदय चापागाईको भनाइ छ । बर्खाको पानी सङ्कलन गरेर राख्दा हिउँदमा प्रयोग गर्न सकिने उपाय रच्नुपर्ने चापागाई बताउनुहुन्छ । यस वर्ष चिया बढे पनि तयारी चिया विदेश निर्यात समस्या हुन सक्ने उनको भनाइ छ । कोरोनाका कारण हवाइ भाडा बढेकाले लागत बढेको गुनासो चापागाईको छ ।
सरकारले कृषिजन्य सामग्री निर्यातमा बेवास्ता गरेको भन्दै चापागाईँले नाका सहज बनाउन र भाडा घटाउन पहल गर्नुपर्ने बताए । सूर्योदय नगरपालिकाले किसानलाई हरियो चियापत्तीको तोकिएको मूल्य दिन आग्रह गरेको छ । विगतमा विभिन्न बाहानामा उद्योगीले तोकिएको मूल्य दिन आलटाल गरेकोप्रति लक्षित गर्दै नगरले कानून पालना गर्न अनुरोध गरेको हो ।
मापदण्डमा हरियोपत्तीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकेको छ । किसानले पनि उत्पादन गरेको चियामा ४० प्रतिशत मुना चिया हुनुपर्ने मापदण्डमा छ ।-कमला भट्टराई(समाचारदाता)
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार