वासिङ्टन। कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमणबाट अमेरिकामा एकैदिन ८ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा ८ सय १५ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

जनवरी १० मा पहिलो संक्रमण पुष्टि भएयता अमेरिकामा एकैदिन सबैभन्दा बढी मृत्यु भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा थप २४ हजारचन्दा बढीमा संक्रमण देखिएको छ। बुधबार बिहानसम्म अमेरिकामा मृतकको संख्या ३ हजार ८ सय ६७ पुगेको छ। त्यस्तै अमेरिकामा संक्रमितको संख्या झण्डै २ लाख पुगेको छ।

अमेरिकामा संक्रमितको संख्या एक लाख ८७ हजार नाघेको छ भने निको हुनेको संख्या ६ हजार ४ सय ६१ पुगेको छ। कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भन्दा अमेरिकामा मृत्यु हुनेको संख्या धेरै भएको छ। साथै चीनमा भन्दा अमेरिकामा संक्रमितको संख्या पनि दोब्बरले बढेको छ। बुधबार बिहानसम्म चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ५ पुगेको छ भने संक्रमितको संख्या करिब ८१ हजार रहेको छ। चीनमा निको हुनेको संख्या नै करिब ७६ हजार रहेको छ।

न्युयोर्कमा मात्रै एक हजार बढीको मृत्यु

अमेरिकाको न्युयोर्कमा मात्रै एक हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मंगलबार मात्रै न्युयोर्कमा १८२ जनाको मृत्यु भएको छ। न्युयोर्क स्वास्थ्य विभागका अनुसार बुधबार बिहानसम्म न्युयोर्क सहरमा मात्रै करिब ४१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। त्यस्तै पूरा न्युयोर्क राज्यमा करिब ७१ हजार संक्रमित पुगेको पनि विभागले जनाएको छ। न्युयोर्कलाई कोरोना भाइरसको नयाँ इपिसेन्टर मान्न थालिएको छ। कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तमा ६७ हजार ८ सय १ जनामा संक्रमण पुष्टि भएको थियो।

आगामी दुई हप्ता निकै कठिन र पीडादायी हुनेछन्ः राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्ता निकै कठिन र पीडादायी हुने बताएका छन्। मंगलबार ह्वाइटहाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले राष्ट्रव्यापी रुपमा सामाजिक दूरी कायम नराखे मृत्यु हुनेको संख्या अझ बढ्ने चेतावनी पनि दिएका छन्। ‘प्रत्येक अमेरिकी नागरिक आउने कठिन दिनका लागि तयार हुनुपर्छ। आउँदो दुई हप्ता अमेरिकाका लागि निकै पीडादायी र कठिन दिन हुनेछन्।’

त्यस्तै ह्वाइट हाउसकी कोरोना भाइरस रोकथाम तथा नियन्त्रण टिमकी संयोजक डाक्टर डेबोरा बिर्क्सले कोरोना भाइरससम्बन्धी संघीय गाइडलाइन पालना नगरे एक लाखदेखि २ लाख ४० हजारसम्मको मृत्यु हुन सक्ने चेतावनी दिएकी छिन्।

त्यस्तै मंगलबार इटालीमा ८३७, स्पेनमा ७४८, फ्रान्समा ४९९, बेलायतमा ३८१, जर्मनीमा १३०, इरानमा १४१, बेल्जियममा १९२ र नेदरल्यान्ड्समा १७५ जनाको मृत्यु भएको छ।

कोराना भाइरसको संक्रमणबाट अहिलेसम्म विश्वका विभिन्न देशमा गरी ४२ हजारको मृत्यु भइसकेको छ। त्यस्तै संक्रमितको संख्या ८ लाख ५८ एक हजार २७ पुग्दा एक लाख ७७ हजारभन्दा बढी निको भएका छन्। (एजेन्सी )

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार