( गद्यकविता )
(वीर गोर्खालीहरु प्रति समर्पित )

प्रिय सबु !
तिमी रोइरहेकी हौली
अब हाँस म युद्ध मैदानमा छु
हार या जित त्यो त समयले बताउला
म त्यही कालापानी युद्धमा लडिरहेको छु
मेरो युद्ध भियतनाम र रुसको भन्दा भिन्न छ
म टिष्टा र काङ्गडामा इतिहासको बंकर खनेर
दुष्मनलाई सखाप पार्ने छु

हो सबु !
अब नरोऊ म युद्ध जितेर आउने छु
मेरा अघि पछि हजारौं योद्धाहरु छन्
तिमी हाँस !
जित मेरै हुनेछ
किनकि
म एउटा वीर गोर्खालीको छोरो
इतिहासमा मैले कहिल्यै हार्न जानेको छैन

प्रिय सबु !
तिमी पशुपतिमा घण्टा बजाऊ
म त्यही क्षण युद्धघोष गर्नेछु
तिमी पाथिभरामा परेवा उडाइदेऊ
म दुश्मनको छातिमा टेकेर
वीरताको इतिहास रच्ने छु
एउटा न्यायको युद्ध
अर्को समानताको युद्ध

हो सबु !
तिमीले अब रुनु हुदैन
आज म
मेरो देशको सपना पुरा गर्न
लडिरहेको छु
मेरो जितमा,
तिम्रो पनि सपना छ
म केबल मेरालागि मात्र हैन
एउटा सिङ्गो देशको लागि लडिरहेको छु
जिते सबैको जित हुनेछ
हारे वीरताको इतिहास हार्ने छ
त्यसैले मैले हार्नु हुदैन ,

हो सबु !
तिमी रोइरहेको सपना देखेँ थेँ
सबु ! अब तिमी नरुनु है
युद्धमा जित र हार अवश्य हुन्छ
जे होस्
मैले यो युद्ध हार्नु हुदैन
म बलिमा चड्दा मेरो देशले जित्छ भने
हाँसीहाँसी बलिमा चढ्न तयार छु
तर मेरो देश कहिँ कतै पनि हार्नु हुदैन
किनकि
इतिहासमा मेरो देश कहिल्यै हारेको छैन

हो सबु !
तिमी रोइरहेको त्यो सपना
सपना मात्र होस्
किनकि
तिमी रोए, संसार रुने छ
तिमी हाँसे मेरो संसार हाँस्ने छ
त्यसैले,
प्रिय सबु ! तिमी हाँस
म मरे पनि मेरो देश कहिल्यै मर्ने छैन ।।

–याम दंगाल सरोवर
हल्दिबारि-५ झापा नेपाल

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार