हल्दिबारी,१६ भदौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला समितिको तेस्रो जिल्ला अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ।

झापाको विर्तामोड स्थित अग्रसेन भवनमा भएको तेस्रो जिल्ला अधिवेशनले प्रशान्त थापालाई सचिवमा चयन गर्दै २५ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । पुरानो कार्यसमिति विघटन भएसँगै हिजोको अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले प्रशान्त थापालाई सचिवमा चयन गरेको नेकपा झापाले जानकारी दिएको छ।

पार्टीको तेस्रो जिल्ला अधिवेशनबाट निर्वाचित भएका सचिव थापा सहित नवनिर्वाचित कमिटीलाई जिल्ला इन्चार्ज सुमन लिम्बूले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण लगत्तै प्रतिबद्धता मन्तव्य राख्दै सचिव थापाले पार्टीको एजेन्डा र उद्देश्यलाई दृढ संकल्प सहित अगाडि बढाउने र कार्यनयन गर्ने उद्घोष गरे । नवनिर्वाचित कमिटीलाई पार्टीका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि दिपेश राई र पार्टी केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बूले खदा र अबिर लगाएर बधाई तथा शुभकामना दिएका थिए ।