झापाको बिर्तामोड नगरपालिका क्षेत्रभित्र एक सय विगाभन्दा बढि चिया खेती फडानी गरिएको छ । चिया किसानले विभिन्न समस्या देखाउदैं चिया बगान फडानी गरेका हुन् । चियामा ठुलो घाटा हुन थालेको भन्दै फडानी गरिएको किसानहरुको भनाई छ ।
कतिपयले अन्य खेती गर्ने योजना बनाएका छन् भने कतिपयले जग्गा व्यापारको योजना अघि सारेका छन् । बिर्तामोड– ७ का एलपी सिटौलाले २३ विगा जमिनमा लगाएको चिया बगान फडानी गर्नु भएको छ । चिया खेतीमा संधै नोक्सान व्यहोर्नु परेको भन्दै उहाँले चिया बगान फडानी गरेको बताउनु भयो । २३ विगाको हरियाली चिया बगान यतिबेला उजाड बनेको छ । २०५१ सालदेखि सिटौला परिवारले चिया खेती सुरु गरेको थियो । धान खेतीभन्दा चियामा फाइदा हुने आशामा सुरु गरिएको चिया बगान घाटा सहन नसकेर मास्नु परेको सिटौलाले बताउनु भयो ।

चिया सुरु गर्दा ७५ रुपैयाँमा श्रमिक पाइने गरेको थियो । अहिले ३ सयको हाराहारीमा ज्याला पुगेको जनाइएको छ । सधैंको मल अभाव, फ्याक्ट्रीहरुको अस्वस्थ्य प्रतिष्पर्धाले चिया किसान धेरै मार्कामा परेको उनीहरुको गुनासो छ । चिया बगान मासेपछि यस क्षेत्रका चिया मजदुरको रोजगारी गुमेको छ । तर यस चिया फाडेको क्षेत्रमा तरकारी लगायतका बाली लगाउने भएकाले यहाँ तिनै मजदुरहरुलाई रोजगारी दिने आश्वासन दिएको वडा नम्बर ७का वडाअध्यक्ष कृष्ण प्रसाद खरेल अविरलले जानकारी दिनु भयो ।

बिर्तामोड ७ मै रञ्जनराज प्रसाईले १० विगा, डा। भिष्मराज प्रसाईले १६ विगा,चतुर प्रसाईले करिव ८ विगा, अरुण भट्टराईले करिब १० विगा, भरत डम्बर विमलीले ८ विगा, युवराज विमलीले १२ विगा, लुवराज प्रसाईले ७ विगा, हरि न्यौपानेले ६ विगा, रन्जित प्रसाई र राजन शिवाकोटीले ४–४ विगा र वडा नम्बर ६ मा गोपीकृष्ण प्रसाईले १६ विगा गरि एक दर्जन चिया बगान पूर्ण रुपमा फँडानी भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार