लिलाराज खनाल 

नेपाली कांग्रेसका शीर्ष नेताहरू यति बेला देश दौडाहामा लागेका छन् । यसरी एक्लाएक्लै पार्टीको कार्यक्रम लिएर हिँड्ने नेतामध्ये केहीले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनलाई लक्षित गरेका छन् भने कतिपयले प्रभाव देखाउनकै लागि राजधानीवाहिर निस्किएका हुन् ।

बाहिर देखाउन उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन माहौल बनाउने उद्देश्यले कार्यकर्ता भेटघाट र राजनीतिक गतिविधि बढाए पनि कांग्रेस नेताहरूको लक्ष्य भने आगामी १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारीको तयारी र आफ्नो पक्षमा कार्यकर्तालाई तान्ने रहेको देखिन्छ ।

कांग्रेसको १४औं महाधिवेशन आगामी एक वर्षभित्र गर्नुपर्ने संवैधानिक बाध्यता छ । कांग्रेसले आगामी मंसिर १ गतेदेखि क्रियाशील सदस्यता वितरणको विषयमा निर्णय गरी पार्टीको महाधिवेशनको मिति निर्धारण गर्ने निर्णय यसअघि नै गरिसकेको हो ।

राजधानी छाडेर विरलै बाहिरिने कांग्रेस सभापति देउवा बिहीबार नै कैलाली पुगेर आज महेन्द्रनगरमा शिक्षक संघको कार्यक्रममा ब्यस्त छन् । सभापति देउवा सुदूरपश्चिम प्रदेशमा ब्यस्त हुँदा वरिष्ठ नेता रामचन्द्र पौडेल भने बिहीबार प्रदेश नं. १ को झापा पुगेर आज इलामको कार्यक्रममा ब्यस्त छन् ।

सनिवार  देउवाले बिहीबार प्रेस युनियनको कार्यक्रममा सहभागिता जनाएका थिए भने आज (शुक्रबार) नेपाल शिक्षक संघले महेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गरेका छन् ।

शनिबार धनगढीमा नेपाल महिला संघको भेलालाई सम्बोधन गरी काठमाडौं फर्कने सभापति देउवाको सेड्युल भएको उनका स्वकीय सचिव भानु देउवाले शिलापत्रलाई जनाए । देउवा आगामी ६ र ७ गते पोखरामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

झापामा कांग्रेसका अगुवा कार्यकर्तासँग भेट गर्न केन्द्रीय सदस्य डा. शेखर कोइराला र धनराज गुरुङलाई साथै लिएर सभागी भए । पौडेल २६ कात्तिकमा हेटौंडामा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रदेश नम्बर ३ स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए ।

पौडेलका निजी सचिव चिरिञ्जीवी अधिकारीका अनुसार २७ कात्तिकमा बाराको निजगढ र सिरहाको लहानका कार्यक्रममा पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गरेका पौडेल इलामका अगुवा कार्यकर्ताको भेलामा सहभागी छन् भने शनिबार पाँचथरको फाल्गुनन्द गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

पार्टीको जिल्ला कार्यसमिति ताप्लेजुङले १ मंसिरमा आयोजना गर्ने बृहत् कार्यकर्ता भेलालाई पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पौडेलसँगै युवानेता तथा पूर्वसभाषद् रामहरि खतिवडाले पनि उक्त भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

महामन्त्री डा. शशांक कोइराला भने आइतबार आफ्नै निर्वाचन क्षेत्र रहेको पश्चिम नवलपरासीका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् । आफ्ना मतदाता र कार्यकर्तासँग भेटघाट गरी उनी सोमबार धरान उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

महामन्त्री कोइराला मंगलबार विराटनगर गएर अर्को साता राजधानी फर्कने र ७ मंसिरदेखि पोखरा, बाग्लुङ र दाङका चुनावी कार्यक्रम र सभामा सहभागी हुने भएका छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला शुक्रबार नै पोखरामा अगुवा कार्यकर्ताको भेला र चुनावी र्‍यालीमा समेत सहभागी भएका छन् । शनिबार पोखराकै चुनावी कार्यक्रममा सहभागी हुने सिटौला आइतबार बागलुङमा भएको प्रदेशसभा निर्वाचनमा कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यमा उम्मेदवार भएका जीत शेरचनको चुनावी सभामा सहभागी हुने भएका छन् ।

उपसभापति विजयकुमार गच्छदार बुधबार नै धरान उपमहानगरपालिकाको चुनावी कार्यक्रममा सहभागी थिए भने अर्का उपसभापति विमलेन्द्र निधि पोखरामा गत सातादेखि नै चुनावी सभा, कार्यक्रम र अनौपचारिक कार्यक्रममा सहभागी भएका छन् ।

आगामी महाधिवेशनमा सभापतिको दाबी गरिरहेका केन्द्रीय सदस्य डा. शेखर कोइराला भने एक सातादेखि नै देश दौडाहामा छन् । एक सातादेखि पूर्वी नेपालका सुनसरी, मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी भएका कोइराला यो महिनाभरि नै उपत्यकाबाहिरका कार्यक्रममा सहभागी हुने उनका सहयोगी दिनेश थपलियाले जनाए ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार