धरानः लकडाउन बाट पीडित विपन्न वर्गलाई राहत वितरण तथा संकलन कार्य धरानमा उपमहानगरपालिका मार्फत एकव्दार प्रणाली व्दारा गर्ने निर्णयमा सहभागी भएका नेकपाका संघीय एवं प्रदेश सांसदहरुले नै उक्त निर्णयको अवज्ञा गरी आयश्रोत नखुलाई आफुखुशी विभिन्न वडामा आफै राहत वितरण गरेर एकद्वार प्रणालीको धज्जी उडाएकोमा नेपाल कांग्रेस धरान उपमहानगर समितिले आपत्ति जनाएको छ ।

कांग्रेसले मंगलवार प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकारले राहत सहयोग एकद्वार प्रणाली मार्फत वितरण गर्ने भनि गरेको निर्णयको अवलम्बन गर्दै धरान उपमहानगरपालिकाले यस क्षेत्रका सांसदहरु, स्थानीय दलका प्रतिनिधीहरु, संघसंस्थाका प्रतिनिधिहरु, सुरक्षा प्रमुखहरुको सर्वदलिय, सर्वपक्षिय बैठक बोलाई एकव्दारा प्रणालीमा राहत संकलन र वितरण गर्ने सर्वसम्मत निर्णय लाई नेकपाका सांसदहरुले धज्जी उडाएको आरोप लगाएको हो ।

यसअघि स्थानिय सरकारको नेतृत्वमा एकव्दारा प्रणाली बाट राहत संकलन र वितरण गर्ने निर्णय अनुसार स्थापना गरिएको कोष तथा फुडबैंकमा नेकपा धरान उपमहानगर समिति, नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी लगायत जनप्रतिनिधिहरु, विभिन्न संघ, संस्थाहरुले आर्थिक एवं खाद्यान्न सहयोग प्रदान गर्दै आएको छ । संकलित सहयोग उपमहानगरपालिका व्दारा गठित समितिले एक व्दारा प्रणाली मार्फत वडाहरुमा राहत वितरण गरिदैं आएको छ ।

यसै बेला नेकपाका प्रदेश १ इञ्चार्ज तथा प्रदेश सभा सदस्य भिम आचार्य, सुनसरी–१ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद जयकुमार राई, प्रदेश सांसद साबित्री श्रेष्ठ र उमिता बराइलीले एकव्दार प्रणालीमा राहतको खाद्यान्न प्रदान नगरी सिधै वडाहरुमा प्रदान गरेकोमा कांग्रेसले आपत्ति जनाएको हो ।

नेकपा सम्बद्ध सांसदहरुको कुल १३ हजार केजी चामल सुनसरी–१ संघीय चुनाव क्षेत्रको धरानमा पर्ने २० वटै वडा तथा प्रदेश सभा चुनाव क्षेत्रको वडाहरुमा सांसदहरुले सिधै वितरण गरेका हुन् । सांसदहरुको खाद्यान्न सहयोग वडाहरु लाई सिधै वितरण गरिनु धरानको फुड बैंकमा जम्मा गरिएको बुझिनु पर्ने संघीय सांसद जयकुमार राईले बताएका छन् ।

कांग्रेसले भने नेकपा सांसदहरुको उक्त कार्यलाई स्थानीय सरकारसंग कुनै समन्वय र जानकारी बिना नै विभिन्न वडामा आफै राहत वितरण गर्दै गरेको तस्वीरहरु सामाजिक सञ्जालमा छरपष्ट देखिएको साथै विभिन्न टिका टिप्पणीहरु भईरहेको सन्र्दभमा एकद्वार राहत प्रणालीमार्फत राहत वितरण गर्ने निर्णयको धज्जी उडेको महसुस गरिएको आरोप लगाएको हो ।

साथै कांग्रेसले सांसदहरुको उक्त खाद्यान्नको श्रोत व्यक्तिगत हो कि सरकारी बजेट बाट निकाशा भएको हो भन्ने सवाल उठाउँदै विज्ञप्तीमा नेकपाका संघीय एवं प्रदेश सांसद्हरुले आयश्रोत समेत नखुलाएको उल्लेख गरेको छ । कांग्रस नगर सचिव युवराज शंकरको हस्ताक्षरमा जारी विज्ञप्तीको पूर्णपाठ यस्तो छ– विश्वभरी फैलिरहेको कोरोना (कोभिड–१९) को महामारीले विश्व समुदाय अहिले लकडाउनको अवस्थामा गुज्रिरहेको र हाम्रो देश पनि सोही अवस्थामा रहेको सर्वविदितै छ ।

तस्विरः रेडियो धरान

तस्विरः रेडियो धरान

यो लकडाउनले हाम्रो जस्तो दैनिकी ज्यालामजदुरहरु, विपन्नवर्गहरु अति नै मर्कामा परेको घटनाक्रमले बताईरहेको छ र यस संकटपूर्ण अवधिमा उल्लेखित वर्ग समुदायहरुमा खाद्यान्नको संकट नहोस् भन्ने सन्र्दभमा नेपाल सरकारले गरेको राहत सहयोग एकद्वार प्रणाली मार्फत वितरण गर्ने निर्णयको स्वागत गर्दै यस धरान उपमहानगरपालिकाले पनि सर्वदलिय, सर्वपक्षिय बैठक बोलाई नेपाल सरकारको सोही नीति अवलम्बन गर्ने र फुड बैंकको स्थापना गर्ने भन्ने निर्णय गर्दा यस क्षेत्रका माननीय सांसदहरु, स्थानीय दलका प्रतिनिधीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु एवं सुरक्षा प्रमुखसहितको बैठकबाट सर्वसम्मत निर्णय गरिएको थियो ।

तर सो निर्णयको अवज्ञा गर्दै नेकपाका माननीय सांसद्हरु (संघीय एंव प्रदेश)ले आयश्रोत नखुलाई स्थानीय सरकारसंग कुनै समन्वय र जानकारी बिना नै विभिन्न वडामा आफै राहत वितरण गर्दै गरेको तस्वीरहरु सामाजिक सञ्जालमा छरपष्ट देखिएको साथै विभिन्न टिका टिप्पणीहरु भईरहेको सन्र्दभमा एकद्वार राहत प्रणालीमार्फत राहत वितरण गर्ने निर्णयको धज्जी उडाएको हामीले महसुस गरेको छौं ।

यस्तो संकटपूर्ण घडीमा अ–राजनीतिक चरित्र देखाएकोमा नेपाली कां“ग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । आफु बच्ने र अरुलाई बचाउने समयमा भोट माग्ने खाल्को क्रियाकलाप प्रस्तुत गरेर सत्तापक्षीय सांसदहरुबाट यस प्रवृत्तिको धराने जनताले समय सापेक्ष जवाफ दिने नै छन् र स्थानीय सरकारलाई आफ्नो निर्णयमा कटिबद्ध भई एकद्वार प्रणाली मार्फत नै राहत संकलन तथा वितरणलाई निरन्तरता दिन अनुरोध छ ।

यस असहज परिस्थितीमा आफ्नो ज्यानको कुनै परवाह नगरी अहोरात्र खट्नुहुने जनप्रतिनिधी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाईकर्मी एवं कर्मचारी साथीहरु साथै फुड बैंक र राहत कोषमा जिन्सी एवं नगद जम्मा गरी महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुने सम्पूर्ण दाताहरु प्रति नेपाली का“ग्रेस धरान हार्दिक आभार व्यक्त गर्दै धरानवासीहरुमा सरकारले जारी गरेको लकडाउनको अवधिभर घरमै बसी आफु र अरुलाई पनि संक्रमणको जोखिमबाट बच्न र बचाउन हार्दिक अपिल गर्दछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार