काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने मितिबारे अझै स्पष्ट हुन सकेको छैन। कोरोनाभाइरसको महामारीका कारण परीक्षा हुन नसकेपछि सरकारले विद्यालयको मूल्यांकनका आधारमा प्रमाणपत्र दिने निर्णय गरेको छ ।

विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा कक्षा शिक्षक र जेष्ठ शिक्षकसहितको समितिले कक्षा १० को परीक्षाका आधारमा मूल्यांकन गरी प्राप्तांक पठाएपछि राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गर्ने हो । उक्त प्राप्तांक शिक्षा विकास तथा समन्वय इकाइले प्रमाणिकरण गरेर असार ३० सम्म बोर्डमा पठाइसक्नुपर्छ । यसपछि बोर्डले नतिजा सार्वजनिकको तयारी गर्ने छ ।

सरकारले असार २० गतेसम्म विद्यार्थीको प्राप्तांक पठाउन विद्यालयलाई भनिए पनि सो प्रभावकारीमा रुपमा काम हुन सकेको छैन । सरकारी तथा सामुदायिका विद्यालयहरु क्वारेन्टाइनका रुपमा प्रयोग गरिएपछि विद्यार्थीको प्राप्तांक पठाउन ढिलो भएको हो ।

मुलुकभरका अधिकांश विद्यालय क्वारेन्टाइनका रुपमा स्थानीय तहले प्रयोग गरेका छन् । तर, ती विद्यालयका विद्यार्थीको प्राप्तांक पठाउन समस्या परेको छ । उनीहरुले स्थानीय तहसँग समन्वय गरेर प्राप्तांक पठाउने प्रयास गरिरहेका छन् । केही विद्यालयले कामै सुरु गर्न सकेका छैनन् भने लकडाउनका कारण केही विद्यालयका प्राध्यानाध्यापक गृहजिल्लाबाट विद्यालय फर्किन सकेका छैनन् ।

जस कारण सरकारले साउन १५ मा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरिए पनि सम्भव हुन कठिन पर्ने देखिएको छ । नतिजा प्रकाशन गरिने मितिबारे राष्ट्रिय परीक्षा बोर्डले स्पष्ट जवाफ दिन सकेको छैन ।
एसईई परीक्षाका लागि ४ लाख ८२ हजार ७ सय ७ विद्यार्थीले आवेदन भरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार