काठमाडौं । वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ ।

विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् ।वैदेशिक रोजगारीमा रहेका नागरिकले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिएर पुनः श्रम स्वीकृति प्राप्त गर्न सक्ने विभागले जनाएको छ ।

यसबाट बिदामा नेपाल आएका वा विदेशमै रहेकाले लाभ लिन सक्नेछन् ।विभागको अनलाइन प्रणालीबाट आँखाको स्क्यान तथा औँठाछाप स्क्यान गरेर श्रम स्वीकृति लिएकाले अनलाइनबाट पुनः श्रम स्वीकृति लिन सक्नेछन् l अनलाइनमार्फत पुनः श्रम स्वीकृतिका लागि विभागको वेवसाइट www.dpfe.gov.np को अनलाइन श्रम स्वीकृतिमा क्लिक गरी फारम भर्न सकिनेछ ।

फारम भरिसकेपछि कुन शाखाबाट पुनः श्रम स्वीकृति लिने हो त्यो छान्नुपर्छ ।विभागले विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीका साथै काठमाडौँको ताहचलबाट श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन फिर्ता भएमा सोको कारणसहितको एसएमएस आवेदकको मोबाइल नम्बरमा जानेछ ।

विभागले फारम भर्दा सही मोबाइल नम्बर, इमेल उल्लेख गर्न आग्रह गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार