हल्दिवारी ,झापा । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि रोमान्चक जित निकालेको छ । आज (बुधबार) भएको खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो ।

यसअघि युएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २०४ रन बनायो । उसको लागि चार्ल्स अमिनीले ५९ रनको अर्धशतकीय पारी खेले भने चाड सोपरले ३५ रन बनाए । त्यस्तै टोनी उरा २७ रन बनाई आउट भए भने लेगा सियकाले २५ रन जोडे । नेपालको लागि सोमपाल कामीले ३ विकेट लिए भने कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल र आरिफ शेखको भागमा समान १-१ विकेट रह्यो ।

२०५ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाउदै पूरा गर्यो । नेपालको लागि रोहित पौडेल र आरिफ शेखले क्रमश: ५८ र ५३ रनको अर्धशतकीय पारी खेले भने करण केसी २९ रनमा अविजित रहे । त्यस्तै आसिफ शेख १६ रन बनाई आउट भए भने बिनोद भण्डारीले ११ रन जोडे । पीएनजीको लागि नोरमान भानुआ, अलेइ नाओ र रायली हेकुरले समान २-२ विकेट लिए ।

नेपालले आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुवात गरेको छ । त्यस्तै नेपाललाई पराजित गर्दै पीएनजीको पहिलो जित निकाल्ने धोको अधुरै बनेको छ । सिरिजअघि नेपालले श्रीलंकामा ३ अभ्यास खेल खेलेको थियो। जसमा २ मा जित र १ खेलमा हार व्यहोरेको थियो । नेपालले सिरिजमा यूएई र पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्नेछ । त्यस्तै दोस्रो खेल नेपालले युएईविरुद्ध मार्च १८ मा खेल्नेछ भने तेस्रो खेल यूएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ । यस्तै मार्च २२ मा नेपालले अन्तिम खेल पीएनजीविरुद्ध खेल्नेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार