विराटनगर, ४ माघ । १९ दिनका शिशुले दूध नखाएपछि उमादेवी मुखियालाई आफन्त र छरछिमेकीले अस्पताल लैजान सल्लाह दिए । बुधबार बिहान विराटनगर १० मा रहेको माइती घरबाट श्रीमान दीलिप मुखियासहित आफन्तले एम्बुलेन्समा ल्याएर शिशुलाई कोशी अस्पतालको इमरजेन्सी वार्डमा भर्ना गरे । जहदा गाउँपालिकाको वडा नम्बर ३ घर भए पनि बच्चा जन्मिएपछि उमादेवी माइतीघर विराटनगर १० आएकी थिइन् ।

अस्पताल पुगेको केही समयपछि चिकित्सकले शिशुको धडकन नचलेको भन्दै मृत घोषित गरे । १९ दिनको छोरीको मृत्युको खबरले उमासहित आफन्तको रुवावासी चल्यो ।

अन्त्येष्टिका लागि भन्दै माइती घर लिएर गए । तर घर पुगेपछि आफन्तले हेर्दा शिशुले सास फेरिन् । हात खुट्टा पनि चलाएपछि हतार हतार एम्बुलेन्स बोलाएर कोशी अस्पताल नजिकै रहेको गोल्डेन अस्पताल भर्ना गरे ।

बुधबार बिहान भर्ना गरिएकी शिशुको एनआईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । कम तौलको शिशुमा शारीरिक कमजोरी, संक्रमण र चिसोका कारण समस्या भएको हुनसक्ने गोल्डेन अस्पतालका चिकित्सक डाक्टर सतिश यादवले जानकारी दिएका छन् ।

उमादेवीका अनुसार छोरीले दूध नखाएपछि बिहान कोशी अस्पताल लगिएको थियो । अस्पतालमा शिशुलाई तीन जनाले जाँच गरेका थिए । चिकित्सकले लापरबाही गरी आफ्नो बच्चालाई जिउँदै हुँदा मृत घोषित गरेको उनले आरोप लगाइन् ।

चिकित्सकमाथि हातपात

मृत घोषित गरेको शिशुले सास फेरेपछि गोल्डेन अस्पताल भर्ना गरेका शिशुका आफन्तले  कोशी अस्पतालमा गएर चिकित्सकमाथि हातपात गरेका छन् । शिशुको उपचारमा कोशी अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा.आकाश यादवको नेतृत्वमा तीन जना स्वास्थ्यकर्मी खटिएका थिए । शिशुका आफन्तले हातपात गर्दा उनी सामान्य घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । जिउँदै बच्चालाई मृत घोषित गरेको भन्दै हातपातमा उत्रिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

कोशी अस्पताल विराटनगरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले हातपात गर्नेहरुले माफी मागेपछि मिलापत्र भएको बताए । उनले शिशुलाई मृत घोषित गरेको विषयमा चिकित्सकमाथि सोधपुछ गरिएको बताए ।

सञ्चारकर्मीमाथि दुर्व्यवहार

जिउँदो शिशुलाई अस्पतालले मृत घोषित गरेको विषया रिपोर्टिङका लागि पुगेका पत्रकारले आफूमाथि कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. लक्ष्मीनारायण यादवले दुर्व्यवहार गरेको बताएका छन् ।

रिपोर्टिङका लागि पुगेका स्थानीय पत्रकार सोनुकुमार दासले आफूमाथि दुर्व्यवहार भएको बताएका हुन् । बुधबार बिहान मेसु यादवले आफ्नै कार्यकक्षमा दुर्व्यवहार गरेको उनले बताए । शिशुको उपचारको विषयमा प्रश्न गर्दा आफूलाई ठेलेर कार्यकक्षबाट बाहिर निकालेको उनले बताए । पछि मेसु यादवले उनीसँग माफी मागेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार