हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी/ चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले विराटनगरको अवधनारायण मेमोरियल क्लिनिक तोडफोड गरेका छन् । पित्तथैलीको शल्यक्रियाका लागि भर्ना भएकी बेलबारी नगरपालिका–८ निवासी ३२ वर्षीया सजना राईको मृत्युपछि आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

क्लिनिकमा पित्तथैलीमा पथरियाको शल्यक्रिया गरेकी महिलाको शुक्रबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । अवधनारायण मेमोरियल क्लिनिकले लापरवाही गरेका कारण मृत्यु भएको भन्दै आफन्त र स्थानीयले आइतबार अस्पताल तोडफोड गरेका हुन् । तोडफोडको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले तीन जनालाई पक्राउ गरेको छ । अस्पतालमा तोडफोड गर्ने प्रयास गरेपछि तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले जानकारी दिए ।

अस्पतालको अवस्था तनावपूर्ण बनेपछि प्रहरी परिचालन गरिएको छ । ३२ वर्षीय सजना गत पुस २८ गते विराटनगर–७ स्थित अवधनारायण मेमोरियल क्लिनिकमा भर्ना भएका थिए । सोही दिन उनको शल्यक्रिया भएको थियो । शल्यक्रियापछि बिरामीको अवस्था जटिल बन्दै गयो । तर उनलाई आवश्यक पर्ने अक्सिजनसहितको आइसियू सुविधाको अस्पतालमा थिएन । पुस २९ गते उनको मुटुको चाल कम भएपछि अस्पतालले आईसीयू छैन भन्दै धरान रेफर गर्यो । बुबा होमबहादुरका अनुसार थप उपचारका लागि धरान लगिएको थियो ।

धरानमा शुक्रबार उनको मृत्यु भएको थियो । मृत्यु भएपछि आफन्तले अवधनारायण मेमोरियल क्लिनिकले लापरवाही गरेको भन्दै शव बुझेका छैनन् । लापरवाही गर्ने चिकित्सकलाई कारवाही गर्नुपर्ने माग गर्दै आएका छन् ।-कमला भट्टराई

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार