भद्रपुर, फागुन १० । मछिन्द्र क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्तीमगरले समान एक÷एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने चर्च ब्वाइजले गरेको थियो । खेलको ५४ औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले सुरुवाती गोल गरे । तर, उनले गगनदीप सिंहको क्रसमा हेडमार्फत गोल गरेका थिए । यद्यपि अन्तिम १० मिनेटमा लयमा फर्किएको मछिन्द्रले लगातार गोल फर्कायो । खेलको ८१ औँ मिनेटमा सुजल श्रेष्ठले लामो फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै मछिन्द्रलाई खेलमा फर्काए ।

खेललाई बराबरीमा फर्काएपछि उत्साहित मछिन्द्रका खेलाडीले लगत्तै अर्को गोल थपे खेलको ८६ औँ मिनेटमा विमल घर्तीमगरले हेडरमार्फत गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गरे । मछिन्द्रले फाइनल प्रवेशका लागि अब एपिएफ पुटबल क्लब र काउवार्न बजार प्रगति संघ बंगलादेशबीचको विजेतासँग आइतबार खेल्ने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

बुधबारको खेलको प्लेयर अफ द म्याच मछिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो । आइतबारबाट सुरु भएको प्रथम भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका महासचिव जिवनकुमार श्रेष्ठले जानकारी दिए ।

गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

तस्बिर : हेमन्त मैनाली

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार