काठमाडौं, १२ जेठ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा मधेशी दलित गैरसरकारी संस्था महासंघ काठमाडौंलेधुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी जनचेतनामुलक छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा महासंघले अन्तरक्रिया कार्यक्रम आयोजना गरेर धुम्रपान तथा सूर्तिजन्य पदार्थसम्बन्धी स्वास्थ्य मन्त्रालयसँग मिलेर विशेषतः मधेस प्रदेशमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजनाहरू गरिरहेको जनाएको हो ।

कार्यक्रममा बोल्दै महासंघका प्रदेश सदस्य शर्मीला महराले आजको अवस्थामा युवाहरू धुम्रपान तथा सूर्तिजन्य पदार्थको कुलतमा लागेको बताउँदै यसबाट बचाउन महासंघले विभिन्न जिल्लामा कार्यक्रमहरू गरेर जनचेतना जगाइरहेको उल्लेख गरिन्।

कार्यक्रमका प्रमुख अतिथी तथा काठमाडौं महानगरपालिका–२९ का वडाध्यक्ष कुश ढकालले धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोग नेपालको मात्रै नभइ संसारकै समस्या भएको दाबी गरे। उनले सरकारले सबैभन्दा बढी कर यहीँबाट उठाउने र अस्पतालमा पनि यही कारणले सबैभन्दा बढी बिरामी भएर जाने बताए । नेपालमा उक्त समस्या कम हुनेमा आफू विश्वस्त नभएको बताए।

ढकालले विदेशमा जस्तो नेपालमा पनि होटेललगायत विभिन्न ठाउँमा स्मोकिङ–जोन राख्नुपर्ने सुझाव दिए । उनले धुम्रपान कम गर्नको लागि जनचेतनामूलक कार्यक्रमहरु गरेपनि सेवनकर्ताले रियालाईजेशन नगरेसम्म धुम्रपान कम नहुने बताए ।

महासंघको तर्फबाट डा. रामानन्द पण्डितले कार्यपत्र प्रस्तुत गरेका थिए । सो क्रममा उनले सबैलाई धुम्रपान तथा सूर्तिजन्य पदार्थ स्वास्थ्यका लागि हानीकारक भएको थाहा हुँदाहुँदै पनि यसको सेवन गरिरहेको भन्दै दुःख व्यक्त गरे । उनले भने,‘सेवन गर्नुहुँदैन भन्ने जबसम्म हामी दृढताका साथ लाग्दैनांै तबसम्म समाधान हुँदैन।’

सरकारले यसैबाट कर उठाएर विभिन्न फाइदा लिइरहेको हुँदा धेरैजसो देशमा यसलाई बन्देज लगाउन गाह«ो भएको उनले उल्लेख गरे । तर, भुटानलगायत केही देशले पूर्णरूपमा बन्देज लगाएको उनको दाबी छ । सरकारले धुम्रपान नियन्त्रण नियमावली बनाएदेखि नै आफूले सरकारलाई सहयोग गरेको उनले दाबी गरे।

उनले तम्बाकु खेती गर्दा तम्बाकुलाई कुनै जनावरले नखाने हुँदा खेती गर्दापनि कुनै तारबारको आवश्यकता नपर्ने बताए । धुम्रपान तथा सूर्तिजन्य पदार्थ छोड्नका लागि मनस्थितिमा परिवर्तन गर्नसक्यो भनेमात्रै बानी परिवर्तन गर्न सकिने उनको दाबी छ।

उनले धार्मिक कारण, आमा–बुवाले सेवन गर्दा उनका सन्तानले सिक्ने, साथीभाइहरू वा तनावका कारणपनि मानिसहरूमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनको लत लाग्ने गरेको तथ्यांक सुनाए ।

उनले धुम्रपान धँुवा उडाउने र चपाउने दुई प्रकारका हुनेउल्लेख गरे। उनले तराईमा चपाउने र धुवा उडाउने दुवैको उपयोग हुने गरेपनि पहाडमा धुँवा उडाउनको बढीमात्रामा प्रयोग भइरहेको बताए। उनले चपाउनेमा पान–पराग, गुट्खा, खैनी, चुनासँग र चुनाबिना पर्ने बताए। यस्तै, धुँवा उडाउनेमा चुरोट, बिँडी, सिगार आदी रहेको उल्लेख गरे।

कार्यपत्र प्रस्तुत गर्दै उनले धुम्रपानमा पहिलादेखि चलनचल्तीमा आएका कुराहरू विस्तारै हराएर नयाँ प्रविधिहरू आइरहेको पनि सुनाए । उनले विश्व स्वास्थ्य संगठनले धुम्रपानको सार्वजनिकरूपमा विज्ञापन गर्न नदिन विश्वका धेरै देशहरूलाई निर्देशन दिएसँगै नेपालले पनि सन् २००६ देखि सरकारले विज्ञापनमा रोक लगाएको उल्लेख गरे।

धुम्रपानले शरीरको टाउकोदेखि खुट्टाको जुनसुकै भागसम्ममा आक्रमण गर्नसक्ने र गर्भावस्थामा सेवन गरे जन्मिने सन्तानलाई पनि असर गर्ने उनको दाबी छ।

उनले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने विधेयक–२०६८ले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्ति सेवन गर्न नहुने, सूचना टाँस गर्नुपर्ने, घर तथा नीजि सवारीसाधन भित्र धुम्रपान गर्न नहुने ब्यवस्था गरिएको बताए।

सुर्तिजन्य पदार्थको उत्पादन तथा विक्रि–वितरण गर्नुअघि त्यस्तो पदार्थमा निकोटिनको मात्रा, हानिकारक तत्वलगायत अन्य आवश्यक कुराहरूको विवरण मन्त्रालयमा पेश गर्नुपर्ने सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने विधेयक २०६८ले ब्यवस्था गरेको उनले बताए।

उनले धुम्रपान तथा सूर्तिजन्य पदार्थ रोकथामका लागि आत्मबिश्वास, स्वस्थ जीवनशैली बनाउनुपर्ने सोच बनाउनुपर्ने, ध्यान गर्नुपर्ने, प्रशुस्तमात्रा पानी पिउनुपर्ने, त्यसको प्रयोग छोड्न साथीहरूलाई प्रोत्साहन दिनुपर्ने बताए।

विश्वभर १ मिलियन जनसंख्याको मृत्यु धुम्रपानका कारणले भइरहेको उनले तथ्यांक सुनाए । अन्य देशको तुलनामा नेपालमा महिलाहरू सबैभन्दा बढी सुर्तीजन्य पदार्थ उपभोग गर्ने देशमा पर्ने उनको दाबी छ।

यस्तै, महासंघ अध्यक्ष नरेन्द्र पासवानले स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्दै विगत दुई÷तीन वर्षदेखि यस्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेको उल्लेख गरे । संस्थाले यो आर्थिक वर्षमा मधेस प्रदेशको जनकपुरधाममा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरेको बताए।

अन्तरक्रिया कार्यक्रममा मधेशी दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष नरेन्द्र पासवान, महासंघका प्रदेश सदस्य शर्मीला महरा, काठमाडौं महानगरपालिका–२९ का वडाध्यक्ष कुश ढकाल तथा वडा सदस्य सन्तोष ढुंगेललगायतको उपस्थिति रहेको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार