सम्बाददाता –
भद्रपुर/ मुस्लिम आयोगले ईदुल फित्रका दिन घरमै बसेर नमाज पढ्न आग्रह गरेको छ । आयोगको आइतबार बसेको बैठकले ईदुल फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न आग्रह गरेको हो ।

रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदुल फित्रका दिन मस्जिद र मदरासामा गएर सामूहिक नमाज पढ्ने गरिन्छ । यस वर्ष कोरोना भाइरसको महामारीको स्थितिलाई ख्याल गरी ईद पर्वलाई घरमै बसेर मनाउन आयोगले आग्रह गरेको हो ।

रमजानको सुरुको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बिहरुले घरमै बसेर नमाज पढेका थिए । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले देशभर रहेका इस्लाम धर्मावलम्बिहरुलाई ईदका दिन सामूहिक नभई घरमै बसेर नमाज पढ्न आग्रह गरिएको बताए । उनले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदान प्रदान नगर्न समेत आग्रह गरे ।

इस्लाम धर्ममा रमजानको एक महिना लामो ब्रत तोड्ने दिन ईदुल फित्र मनाउने गरिन्छ । यस दिन सामूहिक नमाज पढेर विशेष रुपमा मनाइने गरिन्छ । ईदलाई आपसी सदभावको चाडको रुपमा पनि हेरिने गरिएको छ । यस वर्षको ईदुल फित्र आगामी आइतबार मनाइदै छ । रमजान महिनामा कुरानको अवतरण पृथ्वीमा भएको भन्ने विश्वास इस्लाम धर्मावलम्बीहरुले गर्दछन् ।

यसैबीच मुस्लिम आयोगले आइतबार ट्राफिक प्रहरी महाशाखालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । आयोगका अध्यक्ष अन्सारीले महाशाखाका एसएसपी भीमप्रसाद ढकाललाई दुई हजार थान मास्‍क,२० लिटर सेनिटाइजर,हेन्डवास लगायतका स्वास्थ्य सामग्री प्रदान गरेका थिए।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार