संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै पाँच दलीय सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अलग भएको छ । आज सोमबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो ।

‘पाँच दलीय गठबन्धनभित्रको हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसदद्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरूको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ । गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षती पुगेकाले त्यसबाट हाम्रो पार्टी आज कै मितिदेखि अलग भएको घोषणा समेत गर्दछौँ’ जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी पारित गराउनका लागि सरकारले अपनाएको मतदान प्रक्रियाको पनि भत्सर्ना गरेको छ । ‘एमसीसीलाई पारित गराउनका लागि सरकारले अपनाएको मतदान प्रक्रियाको पनि हाम्रो पार्टी घोर विरोध तथा भर्त्सना गर्दछ । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता जसले राष्ट्रलाई दीर्घकालीन रुपले गम्भीर क्षति पुर्‍याउने छ । जसको विरुद्ध सम्पूर्ण नेपाली जनता सडकमा उत्रेको अवस्थामा जालझेल गरेर ध्वनि मतको आधारमा त्यसलाई पारित गरियो’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै जनमोर्चाले एमसीसीविरुद्धको संघर्षलाई अगाडि बढाउन दलको स्वतन्त्र पहलकदमीमा फागुन १९–२२ गतेसम्म देशव्यापी रूपमा जिल्ला तथा स्थानीय स्तरमा विरोध सभाहरू गर्ने निर्णय गर्दै एमसीसीका सन्दर्भमा एमालेले देखाएको भूमिकाको पनि भर्त्सना गरेको छ ।

प्रेस वक्तव्य

आज बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।

१.पी ओलीले लादेको प्रतिगमनका विरुद्ध हाम्रो पार्टीले प्रतिगमन विरुद्धको पाँच दलीय गठबन्धनको निर्माण र त्यसको निरन्तरतामा जोड दिँदै आएको थियो । प्रतिगमन विरुद्धको पाँच दलीय गठबन्धनले विघटित संसदको पुनस्स्थापना, ओली सरकारको अन्त्य, प्रतिगमनका विरोधी शक्तिहरूको नेतृत्वमा नयाँ सरकारको निर्माण तथा गणतन्त्रको रक्षाका लागि महत्वपूर्ण काम गरेको थियो, जुन सही थियो । एमसीसी जस्तो राष्ट्रघाती सम्झौताका विरुद्ध सम्पूर्ण देशभक्त नेपाली जनता सडकमा उत्रेका छन् । हाम्रो पार्टीले लगातार एमसीसीको खारेजीमा जोड दिंदै आएको छ ।

एमसीसी सम्झौताले देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउनुका साथै सम्झौताका आडमा अमेरिकी सेना समेत नेपाल आउन सक्ने र त्यसबाट हाम्रो असंलग्न परराष्ट्रनीति पनि धरासायी हुने भएकोले विद्यमान अवस्थामा एमसीसी विरुद्धको संघर्ष प्रधान बनेर अगाडि आएको छ ।

यस परिप्रेक्ष्यमा पाँच दलीय गठबन्धनभित्रको हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसदद्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरूको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ । गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षती पुगेकाले त्यसबाट हाम्रो पार्टी आज कै मितिदेखि अलग भएको घोषणा समेत गर्दछौँ ।

२.एमसीसीलाई पारित गराउनका लागि सरकारले अपनाएको मतदान प्रक्रियाको पनि हाम्रो पार्टी घोर विरोध तथा भर्त्सना गर्दछ । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता जसले राष्ट्रलाई दीर्घकालीन रुपले गम्भीर क्षति पुर्‍याउने छ । जसको विरुद्ध सम्पूर्ण नेपाली जनता सडकमा उत्रेको अवस्थामा जालझेल गरेर ध्वनि मतको आधारमा त्यसलाई पारित गरियो ।

यदि अल्पमत बहुमतको विधि अनुसार मत विभाजन गरेको भए एमसीसीलाई विद्यमान अवस्थामा अनुमोदन गर्न सरकारका लागि मुश्किल पर्ने भएको हुनाले नै ध्वनि मतको सहारा लिएर अनुमोदन गर्ने काम भएको छ । सरकारको यस प्रकारको तानाशाही तथा निरंकुश प्रवृत्तिको हामी घोर विरोध तथा भण्डाफोर पर्दछौं ।

३.एमसीसी सम्झौता संसदद्वारा षड्यन्त्रमूलक ढंगबाट पारित गर्नुका साथै सम्झौताको व्याख्यात्मक प्रस्ताव पनि पारित गरिएको छ । उक्त कथित व्याख्यात्मक प्रस्तावलाई समेत हाम्रो बैठकले औचित्यहीन ठहर गरेको छ । माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक प्रस्तावमा कथित सहमति जनाउने कुरा आफ्ना कार्यकर्ताहरूको एमसीसी विरुद्धको आक्रोशलाई मत्थर पार्न गरिएको नौटङ्की मात्र हो ।

अन्तिम अवस्थामा आएर एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पारित गर्न माओवादी र एकीकृत समाजवादीले खेलेको भूमिकाको समेत हाम्रो पार्टीले घोर विरोध तथा भर्त्सना गर्दछ । त्यसका साथै राष्ट्रियता जस्तो गम्भीर सवालमा एमालेले देखाएको रमिता गैर जिम्मेवार व्यवहार र प्रकारान्तरले एमसीसीलाई पारित गराउन खेलेको भूमिकाको पनि बैठकले भर्त्सना गरेको छ ।

४. एमसीसी विरुद्धको संघर्षलाई अगाडि बढाउन दलको स्वतन्त्र पहलकदमीमा फागुन १९–२२ गतेसम्म देशव्यापी जिल्ला तथा स्थानीय स्तरका विरोध सभाहरू गर्ने ठेगान भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार