बिद्यार्थी कुट्ने शिक्षकलाई बिद्यालयले गर्यो निस्काशन

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका– ५ को सुनगाभा इङ्लिस स्कुलले बिद्यार्थीलाई कुट्ने शिक्षकलाई जागिरबाट निस्काशन गरिएको छ । विद्यालयका शिक्षक विकास पोखरेलले कक्षा ३ मा अध्ययनरत ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनालाई बुधवार गृहकार्य नगरेको भन्दै कक्षा कोठामा निर्घात कुटपिट गरेका थिए ।

कुटपिटबाट बालक तिम्सिनाको तिघ्रामा सुम्लो समेत बसेको छ । सोही विषयलाई लिएर बिद्यालय प्रशासनले शिक्षक पोखरेललाई जागिरबाट निस्काशन गरेको जनाएको छ । घटना पश्चात बिद्यालयले बालकका अभिभावक आफन्त, स्थानीय, जनप्रतिनिधि, प्रहरीसँगको छलफल पश्चात भएको निर्णयका आधारमा शिक्षक पोखरेललाई बिद्यालयबाट हटाइएको प्रधानाध्यापक मिलन श्रेष्ठले बताए ।

उनले घटना पश्चात भएको छलफलबाट दुईपक्षविच सहमति भएपनि केहि सञ्चार माध्यममा सहमतिको कुरा नसमेटिएको बताए । बिद्यालयमा घटेको उक्त घटना स्वीकार गर्दै प्रधानाध्यापक श्रेष्ठले अव उप्रान्त बिद्यालयमा यस्ता घटना नदोहोरिने प्रतिवद्धता समेत ब्यक्त गरे । कुटपिटबाट घाइते भएका बालक तिम्सिनाको स्वास्थ्य परिक्षण बिद्यालयले गरेको समेत उनले बताए । अविरलकी आमा अञ्जना तिम्सिनाले कसैले आफ्ना छोराछोरीलाई कुट्दा सहन नसकीने बताउँदै बिद्यालयले छोराको उपचार गर्ने, शिक्षकलाई निस्काशन गर्नेलगायतका निर्णय भएको बताइन् । ‘आजसम्म बिद्यालयमा त्यस्तो भएको थिएन’ तिम्सिनाले भनिन् ‘बिद्यालयप्रति मेरो कुनै गुनासो छैन ।’

उनले अहिले छोरो उक्त बिद्यालयमा अध्ययनरत रहेको बताइन् । बिद्यालय, अभिभावक, स्थानीय, प्रहरी, जनप्रतिनिधिहरुविच विहिबार भएको छलफलमा कुटपिटमा संलग्न शिक्षकलाई निस्काशन साथै गलत कार्य गरेको भन्दै प्याब्सनमा रिपोर्ट गर्ने, पीडित बालकको उपचारको प्रक्रिया अगाडि वढाउनेलगायतका सहमति भएको थियो ।