मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा तयारी तीव्र पारिएको छ । निर्वाचनको मिति नजिकिएसँगै तयारी पनि तीव्र पारिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए । जिल्लाका १० वटै स्थानीय तहका मतदान केन्द्रमा चाहिने मतपत्र र निर्वाचन सामग्री यसअघि नै जिल्ला पुगिसकेका छन् । प्रत्येक मतदान केन्द्रमा पठाउने मतपत्र र निर्वाचन सामग्री तयार पार्ने र सिल गर्नेलगायत कार्य अन्तिम चरणमा पुगेको छ ।

मङ्सिर २६ गतेदेखि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएर मतदान केन्द्रमा खटाइने भएको छ । प्रत्यक्ष र समानुपातिकको मतपत्र आइपुगेको र मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिमदिएसँगै उनीहरूलाई मतपत्र र निर्वाचन सामग्री पनि दिइने उनले बताए । निर्वाचन अधिकारी फुयाँलले भने, “निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा पठाइने मतपत्र र निर्वाचनका लागि आवश्यक सामग्री कर्मचारीलाई तालिमपछि हस्तान्तरण गर्ने तयारीमा छौँ ।”

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्वक सम्पन्न गर्न आचारसंहिता पालना गर्न आग्रह गरिएको छ । यसका साथै जिल्ला सुरक्षा समितिले मतदानस्थल र मतदान केन्द्र अनुगमनसमेत गरिसकेको छ । मतदान केन्द्रको अवस्था, बाटोघाटोको अवस्था र सुरक्षा स्थितिलाई ध्यान दिइएर मतदानस्थलमा अनुगमन गरिएको पमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । निर्वाचनलाई भयरहित र निष्पक्षरुपमा सम्पन्न गर्न सुरक्षा योजना तयार गरिएकाले ढुक्क भएर निर्वाचन गर्न उनले सबैलाई आग्रह गरे । सबै स्थानीय तहमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली पुगिसकेको जनाइएको छ ।

जिल्लामा एक सय २९ मतदानस्थल, दुई सय १० मतदान केन्द्र र एउटा अस्थायी मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा एक हजार छ सय ८४ कर्मचारी परिचालन गरिने भएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी गरी एक हजार छ सय ८४ जनशक्ति परिचालन गरिने भएको हो । पाँच सयसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, चार सहायक कर्मचारी, तीन स्वयंसेवक र एक कार्यालय सहयोगी खटिनेछन् ।

एक हजारसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी, चार स्वयंसेवक र एक कार्यालय सहयोगी खटिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतपत्र बदर हुन नदिन स्थानीय पालिकामा नमूना मतदान कार्य र समुदायरस्तरमै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरिएको छ । आसन्न निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर एक मतदाताले चार मतपत्रमा मतदान गर्नुपर्नेछ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न एवं आचारसंहितालाई कडाइका साथ पालना गराउन यहाँ निर्वाचनको अन्तिम मतपरिणाम नआउँदासम्म मदिराको कारोबार, ओसारपसार र सेवन पूर्णरुपमा निषेध गरिएको छ । मदिराका कारण निर्वाचनका समयमा शान्तिसुरक्षा खलल पुग्नेसक्ने भएकाले जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार अन्तिम मतपरिणाम नआउँदासम्म मदिराको बिक्रीवितरण र सेवनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कसैले सूचनाको अवज्ञा गरेर मदिराको कारोबार र सेवन गरेको पाइएमा कानुनअनुसार कारवाही हुने प्रशासनले जनाएको छ । प्रतिनिधिसभाका लागि एकमात्र निर्वाचन क्षेत्र र प्रदेशसभाका दुई निर्वाचन क्षेत्र तोकिएको बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार