काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति, वैकल्पिक केन्द्रीय समिति र स्थायी समितिलाई पूर्णता दिएको छ । पार्टीका केन्द्रीय स्तरका समितिलाई पूर्णता दिएसँगै नेताहरुको विभागीय जिम्मेवारीलाई भने यथावत कायम गरेको छ ।

माओवादीले विभागीय प्रमुखहरुमा भने पूर्ववत जिम्मेवारीमा रहेका नेताहरुलाई निरन्तरता दिएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले डिसी नेपाललाई जानकारी दिए ।

अबको जिम्मेवारी बाँडफाँट प्रदेश समन्वय समितिले गर्ने हुँदा अन्य कार्यविभाजन हुन बाँकी रहेको उनले बताए । उनले भने, ‘कार्यविभाजन भएको छैन अहिले जे आएको छ त्यो दुई वर्ष अगाडिको हो ।’

अहिले सार्वजनिक भएअनुसार पार्टीका बिभिन्न समितिले पूर्णता पाएको तर विभागीय नेताहरुको जिम्मेवारीमा कुनै हेरफेर नभएको उनले बताए । उनका अनुसार कुनै पनि केन्द्रीय नेतालाई अहिले पार्टीले जिल्ला तथा प्रदेशस्तरीय संरचनाको इन्चार्ज, सहइन्चार्ज लगायतका अन्य जिम्मेवारी टुंगो लगाएको छैन । माओवादीको पुरानै विभागीय जिम्मेवारी अनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्कूल विभाग र संघीय संसदीय विभाग प्रमुख रहेका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई विदेश विभागको जिम्मेवारी दिइएको थियो । उनको सोही जिम्मेवारी नै कायम रहेको बताइएको छ । अर्थ तथा योजना विभागको प्रमुखमा उपमहासचिव वर्षमान पुन रहेका छन् । उनी केन्द्रीय कार्यालयको इन्चार्जको समेत जिम्मेवारीमा छन् ।

माओवादीको संगठन विभागको जिम्मेवारी पहिल्यैदेखि लिएका जनार्दन शर्मा नै कायम भएका छन् । उनी यस अगावै पार्टीको संगठन विभाग प्रमुखको जिम्मेवारीमा थिए ।

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारीमा रहेका थिए । उनको जिम्मेवारी पनि पछिल्लो अवस्थामा यथावत नै रहेको जनाइएको छ । विभागको प्रमुख र मातहतका अन्य तहमा रहेका नेताहरुलाई माओवादीले सोही जिम्मेवारीमा यथावत नै राखेको छ ।

वरीयता निर्धारण, जनार्दनभन्दा वर्षमान अगाडि

यस्तै नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ । यही माघ १२ देखि २१ गतेसम्म बसेको स्थायी समिति बैठकले नेताहरुको वरीयता निर्धारण गरेको हो ।

जसअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो वरीयतामा रहँदा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो वरीयतामा परेका छन् । त्यसपछि उपाध्यक्षहरु कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्पा भुसाल क्रमश वरीयतामा परेका छन् । यसपछि महासचिव देवप्रसाद गुरुङ छन् ।

उपमहासचिवको वरियता निर्धारण गर्दा जनार्दन शर्माभन्दा अगाडि वर्षमान पुन परेका छन् । उपमहासचिवमा क्रमशः गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादवको वरीयता निर्धारण गरिएको छ ।

dcnepal

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार